कोशी प्रदेशमा माओवादी केन्द्रले एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
माओवादी केन्द्र प्रदेश १ इन्चार्ज राम कार्कीले केन्द्रीय गठबन्धनले एमाले गठबन्धन सरकारबाट समर्थन फिर्ता लिएर सत्ता गठबन्धनको सरकार बनाउने निर्णय गरेकाले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।
समर्थन फिर्ता लिएसँगै एमालेका मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
पुस ९ गते एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धन बनेपछि एमालेका मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो ।
उक्त सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री र जीवन आचार्यले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना प्रदेशसभा सदस्यको समर्थन थियो ।
जसपाले यसअघि नै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहने छ ।
९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन हुँदा अल्पमतमा पर्ने छ ।
अब कांग्रेसका २९, माओवादीको १३, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आउने भएका छन् ।
सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
Discussion about this post