झापा । द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालले पत्रकार गणेश पोखरेललाई ५१ हजार राशिको पुरस्कार प्रदान गरेको छ ।
झापाको काँकडभिट्टामा बुधबार आयोजित कार्यक्रममा पत्रकार पोखरेललाई ‘द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो ।
द्रोणाचार्य क्षेत्रीको ३०औँ स्मृति सभाको अवसर पारेर प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गरेको हो । पत्रकार पोखरेल प्रेस काउन्सिल नेपालका सदस्य छन् । उनी रेडियो भिजनका प्रवन्ध निर्देशक पनि हुन् ।
प्रतिष्ठानका अध्यक्ष रविन कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री केशवकुमार बुढाथोकीले पत्रकार पोखरेललाई दोसल्ला ओढाएर सम्मानपत्र सहित पुरस्कार प्रदान गरे ।
प्रतिष्ठानका महासचिव जीवनकुमार श्रेष्ठले एउटा जनप्रिय र आदर्श व्यक्तिका रुपमा नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिको आकांक्षालाई साकार पार्ने काममा द्रोणाचार्यको भूमिका रहेको बताए ।
पत्रकार पोखरेलको व्यक्तित्वमाथि प्रेस चौतारी झापाका पूर्व अध्यक्ष माधव विद्रोहीले चर्चा गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रमणि पौडेल, प्रदेश सभाका पूर्वसदस्य श्रीप्रसाद मैनाली, बसन्त बानियाँ, मेचीनगरका नगर प्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेतीलगायत सहभागी थिए ।
Discussion about this post