झापा । सामान्य अवस्थाको सडकलाई सुन्दर र हरियाली बनाउन सकिँदो रहेछ भन्ने उदाहरण झापाको दमक–६ स्थित थानारोडका बासिन्दाले देखाएका छन् ।
इलाका प्रहरी कार्यालय अगाडिदेखि बजारसम्म करिब ४ सय मिटर सडकको दुवैतर्फ दुई वर्षमा हरियाली छाएको छ । सडक नमुना बनेको छ ।
दुवैतिर ब्यवस्थित फुटपाथसहित रेलिङमार्ग बनेको छ । रेलिङमार्गमा गमलामा बिभिन्न प्रजातिका फलफूल तथा बोटविरुवा हुर्किरहेका छन् ।
‘अहिले सडकको दायाँबायाँ हरित देखिँदा मनोमहक लाग्ने भएको छ’ स्थानीय सामाजिक अगुवा नन्दी अधिकारीले भने ।
सडक व्यवस्थित र हरियाली बनेपछि मानिसहरु आएर ‘सेल्फी’ खिच्ने गरेको उने सुनाए ।
शुरुवातमा गमला राखेर बोटविरुवा हुर्काउन निक्कै मुस्किल भएको पनि उनले बताए । कहिले गमला चोरी हुने कहिले बोटविरुवा नै चोरी हुने गरेको थियो ।
गमला फुटाइदिने जस्ता काम पनि भएका थिए । सीसी क्यामेरामा कैद भएका त्यस्ता घटना सार्वजनिक गरेपछि अहिले त्यस्तो कार्य हुन छाडेको अधिकारीले बताए ।
यो सडकलाई नमुना सडकको रुपमा विकास गर्नका लागि नगरपालिकाले पनि चासो दिएर बिजुलीका खम्बाहरुमा एकै खाले रङ्ग लगाउने, हरियो बत्ती जडान गरेर साँझपख आकर्षक बनाउने कार्य पनि गरेको छ ।
‘दमक बजार क्षेत्रभित्रकै नमुना सडकको रुपमा यो विकास भएको छ’ दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले भने ।
सडक किनारलाई हरित बनाउनका लागि आफुहरुले नगरबासीलाई बारम्बार अनुरोध गरेको आवश्यक सहयोग गर्ने पनि थापाले सुनाए । ‘बजार क्षेत्रभित्रका फराकिला सडकहरुमा हरियाली विकास गर्न सकिन्छ भन्ने यस सडक आसपासका स्थानीयले देखाउनु भएको छ, उनले भने ।
‘औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर’ नगरपालिकाको मुख्य नारा छ । यही सडकले छुने दमकको नमुना बजार भने पछिल्लो समयमा अस्तब्यस्त बनेको छ ।
सवारी साधन सञ्चालन गर्न नदिइने र हिडडुल गर्नमात्र दिइने गरेको नमुना बजारमा आगलागी भएपछि सवारी साधन रोक्न बनाएको संरचना भत्काइएपछि जथभावी रुपमा सवारीसाधन चल्दै आएका छन् ।
Discussion about this post