प्रकाश तिम्सिना/इटहरी
इटहरी उपमहानगरले गत वर्षको माघ महिनाबाट फोहोर प्रशोधन केन्द्रमा फोहोर व्यवस्थापन सुरु गर्यो । इटहरी १० डुमरटक्कामा रहेको केन्द्रमा कुहिने फोहोरबाट खाना पकाउने ग्यास उत्पादन हुने भनिएको थियो । एक वर्ष बितिसक्दा तत्काल इटहरीमा फोहोरको समस्या सामाधान भएको देखिएपनि आगामी दिनमा बिकराल हुने देखिएको छ ।
इटहरीमा दैनिक ५० टन फोहोर उत्सर्जन हुने गरेको छ । त्यसमध्ये ४८ टन नकुहिने बाँकी २ टन मात्रै कुहिने फोहोर हो । कुहिनेबाट ग्यास उत्पादन हुने भएपनि नकुहिने फोहोर के गर्ने भन्ने कुनै जवाफ फोहोर व्यवस्थापनको जिम्मा दिएको कम्पनी वेस्ट एन्ड इनभारो केयर प्रालिसँग छैन ।
व्यवस्थित ल्यान्डफिल साइट सञ्चालन गरेपनि एक वर्ष बित्न लाग्दा ग्यासको बिक्री वितरण हुन सकेको छैन । कम्पनीले ग्यास भर्ने सिलिन्डर नभएको दाबी गरेको छ । तर ग्यास बजारसम्म पुर्याएर कसरी बिक्री वितरण गर्ने भन्ने ठोस नीति नहुँदा समस्या भएको छ । अर्कातर्फ नकुहिने फोहोर हाल ल्यान्डफिल साइट बुढी खोलाको किनारमा फाल्न थालिएको छ ।
किनारमा खाल्डो खनेर नकुहिने फोहोर फाल्ने र माथिबाट माटो पुर्ने गरिएको छ । खोलामा आउने बाढीले जनधनको क्षति गरिरहेको उदाहरण हुँदाहुँदै बाढी रोकथाममा नकुहिने फोहोरको पर्खाल लगाइएको छ । बर्षायाममा बाढीले उक्त फोहोर बगाउने जान्दाजान्दै कम्पनीले अन्यन्त्र कतै फाल्ने ठाउँ नपाएर उक्त उपाय रचेको सहजै अनुमान गर्न सकिन्छ ।
दैनिक ४८ टन नकुहिने फोहोरलाई ब्यबस्थापन गर्न कम्पनीले उपमहानगरलाई फेरि गुहारेको छ । उपमहानगरले अब खोलाको भाग तिरबाट जालीवाल लगाएर उक्त फोहोर फिलिएको ठाउँ सुरक्षित राख्नु पर्ने बताएको छ ।
कम्पनीका प्रबन्धक मानधोज मोक्तान सहरमा कुहिनेभन्दा नकुहिने फोहोर दिनप्रतिदिन बढिरहँदा कसरी ब्यबस्थापन गर्ने भन्ने चुनौती थपिएको बताउँछन् । ‘हामीले कम्पनी त स्थापना जसोतसो गर्यौं तर ५० टनमध्ये दुई टन मात्रै कुहिने बाँकी ४८ टन नकुहिने’ मोक्तानले भने ‘अब हामीले मात्रै सक्ने अबस्था छैन, उपमहानगरको पनि उत्तिकै जिम्मेवारी छ ।’
नकुहिने फोहोरबारे कुनै निर्णय गर्न नसकेको उपमहानगर कसरी व्यवस्थापन गर्ने अन्योलमा छ । वातावरण शाखा प्रमुख युगदिप लुइँटेल कुहिने फोहोरबाट ग्यास उत्पादन भएपनि ग्यास भर्ने सिलिण्डर आउन ढिलाई हुँदा ग्यास बिक्री वितरण हुन नसेको बताउँछन् ।
नकुहिने फोहोरबारे समस्या रहेको लुइँटेलको भनाई छ । ‘हामीले सम्पूर्ण जिम्मेवारी कम्पनीलाई सम्झौता गरेर दिएका छौं’ उनले भने ‘यदि खोलामा फोहोर फाल्ने गरेको हो भने तत्काल कम्पनीसँग बसेर छलफलबाट के गर्न सकिन्छ, त्यही अनुरुप समाधान तर्फ लाग्नेछौं ।’
२०७५ वैशाख १४ गते भएको सम्झौताअनुसार सोही वर्षको असोजसम्ममा ल्यान्डफिल साइट सञ्चालन गर्ने भन्ने थियो । उपमहानगरले जग्गा व्यवस्थापन गर्नुपर्ने र १३ करोड ५० लाख रूपैयाँ वेस्ट एन्ड इनभारो कम्पनीले खर्च गर्ने सम्झौता थियो ।
साथै फोहोरलाई पुनः प्रशोधन गर्न सकिने र नसकिने छुट्याएर व्यवस्थापन गर्नका लागि वेस्ट एन्ड इनभारोले ६० प्रतिशत र मेसिनरी सामान खरीद गर्नका लागि ४० प्रतिशत विश्व बैंकले लगानी गर्ने भनिएको थियो ।
त्यस्तै, खेलमैदान व्यवस्थित गर्ने काम, क्लबलाई सहयोग, खोलामा तटबन्ध बाँध्ने काम र आर्यघाट बनाउने काम उपमहानगरले गर्ने सम्झौता छ । तर यी सम्झौता उपमहानगर आफैँले मानेको छैन ।
उपमहानगरले अहिले वेस्ट एन्ड इनभारो कम्पनीलाई फोहोरको जिम्मा दिएसँगै मासिक तीन लाख रूपैयाँ पाँच वर्षसम्म दिने सम्झौता गरेको छ । त्यसपछि कम्पनीले आम्दानीको एक प्रतिशत उपमहानगरलाई दिने सम्झौता भएको छ । २० वर्षपछि भने ग्यास उत्पादन गर्नेसहितको प्लान्टसँगै ल्यान्डफिल साइट उपमहानगरलाई जिम्मा दिनुपर्ने भनिएको छ ।
दुर्घन्ध फैलिएपछि स्थानीय आन्दोलनमा
फोहोरको उचित व्यबस्थापन नभएको भन्दै गत असार १० गते स्थानीयले फोहोर बोकेर जाने सवारी साधन नै रोके । २०७१ साल फागुन २ गते उपमहानगरपालिका र स्थानीयबासीबीच १९ बुँदे सम्झौता भएको थियो ।
प्रशोधन केन्द्रसम्म जाने सडक मर्मत गर्ने, दुर्गन्ध फैलिए तत्काल समाधान गर्ने, स्थानीयलाई प्रशोधन केन्द्रमा रोजगारको व्यवस्था गर्ने, स्थानीयलाईलाईं कुनै असर परे आन्दोलन गर्ने जस्ता महत्वपुर्ण बुँदा थिए ।
तर ९ वर्ष बित्न लाग्दा पनि भएका सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले सडकमा बाँस तेर्स्याएरसवारी साधन रोकेका हुन् । स्थानीय अनिलकुमार चौधरी सम्झौता पत्रमा उल्लेख भएका बुँदा कार्यान्वयन नभएका कारण आन्दोलन गर्नु परेको बताउँछन् । ९ वर्षअघि भएको सहमति पूरा गर्न उपमहानगर गम्भीर नभएकाले सडक बन्द गर्नु गरेको उनको भनाई थियो ।
स्थानीय मायाकुमारी चौधरी हावा चलेका बेला गाउँमा आउने दुर्गन्धले बस्न नसकिएको बताउँछिन् । ६ महिनादेखि लगातार गन्ध आउँदा समेत वडा तथा उपमहानगरले कुनै वास्ता नगर्दा समस्या भएको उनको आरोप छ ।
‘हावा चलेको बेला, घाम लागेको बेला सहनै गाह्रो हुन्छ’ उनी भन्छिन् सहँदा, सहँदा वाक्क भएर बाटो बन्द गरेका हौं, केही दिनमा बाटो बनाउने, दुर्गन्ध हटाउने कुरा भएको छ, यदि भएन भने फेरि बाटो बन्द गर्छांै ।’
उपमहानगर नम्बर १० का वडा अध्यक्ष अवधेश चौधरी स्थानीयको अबरोध भएपछि देखिएका समस्या समाधान गर्ने सहमति भएपछि फोहोर लान अवरोध नभएको बताए । उनले स्थानीयको समस्यामा गम्भीर भएको बताउँदै सम्झौता पत्रमा उल्लेख भएका सबै बुँदा कार्यान्वयन गराउने समेत जनाए ।
Discussion about this post