काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-६ स्थित सडकखण्डमा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार बिहान पौने २ बजे हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक आपसमा ठक्कर खाई दुवै ट्रकमा आगो लागेको थियो ।
उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवन, राप्ती नगरपालिका-८ बस्ने २८ वर्षका रिहान रुम्बा तामाङ, सहचालक गोरखा, गण्डकी गाउँपालिका- २ का २१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रकको सहचालक मकवानपुर, मनहरी गाउँपालिका – ३ का २० वर्षीय अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका चितवनको राप्ती नगरपालिका- ३ का ३५ वर्षीय विवेक तामाङ र अर्को ट्रकका चालक मकवानपुर, मनहरी गाउँपालिका वडा नम्बर-३ का ३२ वर्षीय अर्जुनकुमार प्रजालाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।
Discussion about this post