धरान । धरान उपमहानगरपालिका वडा–१४, विजयपुर क्षेत्रमा बनाइएको चर्च अन्तै सार्न स्थानीय बासिन्दाले माग गरेका छन् ।
विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, उपमेयर अइन्द्रविक्रम वेघालाई ज्ञापनपत्र बुझाउदै सनातन हिन्दु धार्मिक एवं पौराणिक क्षेत्रमा चर्च निर्माण गरेको भन्दै अन्यत्र सार्न माग गरेका हुन् ।
ज्ञापनपत्र बुझाउँदै समितिका सचिव मात्रिकाप्रसाद नेपालले ‘धार्मिक तथा ऐतिहासिक स्थल सनातन हिन्दु धार्मिक एवं पौराणिक क्षेत्रमा बनेको चर्चले धार्मिक सहिष्णुतामा खलल पुर्याउने बताए ।
धरानको पर्यटनको सबैभन्दा ठूलो हिस्सा विजयपुरका मन्दिरहरु नै रहेको भन्दै भविष्यमा समेत यस क्षेत्रमा चर्च बनाउन नहुने समितिको ठहर छ । धरानमा रहेका मठ मन्दिर दर्शन गर्न देश तथा विदेशबाट वार्षिक करिब २० लाख पर्यटक धरान आउने तथ्याङ्क छ ।
मन्दिर सामुन्ने चर्च हुँदा धार्मिक सद्भाव भड्किने जोखिम भएकोले स्थानान्तरण गराउन उपमहानगरपालिकासँग माग गरिएको संघर्ष समितिका संयोजक जुद्ध लोहनीले बताए । उनले भने, ‘चर्च बनेकोमा आपत्ति भन्दा पनि स्थान उपयुक्त नभएकाले स्थानान्तरण गर्न माग गरिएको हो ।’ मेयर साम्पाङले चर्च निर्माण गर्ने व्यक्तिहरुलाई सम्पर्क गरेर दुवै पक्षसँग छलफल गर्ने बताएका थिए ।
३६ धुर जग्गामा ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेर निर्माण सम्पन्न गरेको चर्चका फादर जीवन श्रेष्ठले बताए । ‘विलिभर्स इष्टर्न चर्च’ नामको उक्त चर्चको निर्माण सम्पन्न गरी पूजा आरधना गर्ने काम समेत सकिएको श्रेष्ठले बताए ।
उनका अनुसार एक पटकमा १ सय ५० जनाले प्रार्थना गर्न सक्ने क्षमताको चर्च बनाइएको हो । श्रेष्ठले यसअघि उक्त क्षेत्रमा ‘हेभन्ली पाथ’ नामक धर्मको पूजा भवन बनिसकेको भन्दै उक्त भवन बन्दा कुनै विवाद नभएको तर चर्च बनाउँदा विवाद झिकिएको बताए ।
आफुहरु सबै धर्मावलम्बिहरुसँग मिलेर बस्ने भन्दै धार्मिक सहिष्णुतामा खलल नपुग्ने श्रेष्ठको भनाइ छ । उनले भने ‘त्यस्तो आपत्ति भएको भए चर्च बनाउन सुरु गर्दा नै भन्नुपर्दथ्यो, अब हामीले निर्माण सम्मन्न गरिसकेपछि चर्च स्थानान्तरण गर्न सम्भव छैन ।’
यसैबीच, उपमहानगरपालिकाबाट भौतिक संरचना निर्माणको लागि चर्चले अनुमति लिने वा नक्सा पास गर्ने प्रक्रिया पूरा गरेको छैन । विवाद देखिएपछि भीमकला राईको नाममा भएको जग्गामा साविककै भवन भएको र नक्सा पास मात्र नभएको भनेर उपमहानगरपालिकामा निवेदन दिइएको छ ।
वडा नं १४ सँग आवासीय प्रयोजनको लागि निजी भवन निर्माण गर्न २ थान रुख कटानको सिफारिस मात्र माग गरेको तर चर्च निर्माणको अनुमतिका लागि निवेदन तथा सिफारिस माग नभएको वडा कार्यालयले जनाएको छ ।
Discussion about this post