विराटनगर । मोरङको लेटाङ र कानेपोखरीमा सवारी दुर्घटना हुँदा शुक्रबार राति तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुईजना घाइते भएका छन् ।
लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ ह १३१२ नम्बरको अटोलाई लेटाङतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले शुक्रबार साँझ ७ः४५ बजेतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा अटो चालक कानेपोखरी गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय सागर तामाङ र ८ वर्षीया बालिका रोशनी मगरको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
दुर्घटनामा परेर बालिकाकी आमा अन्दाजी ३५ वर्षीया टीका आलेमगर घाइते भएकी छन् । उनको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बोलेरो र चालक लेटाङ–६ का अन्दाजी ४१ वर्षीय सन्तोष घिसिङलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको छ ।
दुर्घटनामा परेका दुवै सवारीसाधनमा क्षति पुगेको छ । बोलेरो चालकको लापरबाहीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, कानेपोखरी–७ आइतबारेमा मोटरसाइकल दुर्घटना हुँदा चालक सिरहाको लाहान नगरपालिका घर भएका अन्दाजी २५ वर्षीय सन्तोष भुजेलको मृत्यु भएको छ ।
दुर्घटनामा लाहानकै ३० वर्षीय वीरेन्द्र मगर घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ४९३५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति ११ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मगरलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Discussion about this post