धरान । कोकाह खानेपानी अभियानले आफ्नो आय–व्यय सार्वजनिक गरेको छ । करिब ४२ किलोमिटर पाइपलाइन बनाएर कोकाह खोलाबाट खानेपानी धरान ल्याउन चलाएको कोकाह अभियानले ६ करोड ७८ लाख ७७ हजार ९६४ रुपैयाँको लगानी गरेको हिसाब सार्वजनिक गरेको छ ।
अभियानले हिसाब सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा कोकाह अभियानमा खाइएको मासुभातको चर्चा बढी भएको छ । सार्वजनिक भएको खर्च विवरण अनुसार खाना तथा खाजामा मात्रै ५० लाख २४ हजार ५५८ रुपैयाँ खर्च भएको छ ।
त्यस्तै श्रम अभियान नाम दिइएको अभियानमा ज्यालाका लागि २७ लाख १ हजार ५२ रुपैयाँ खर्च भएको छ । सामाजिक सञ्जालमा मासुभात र ज्यालाको कुरालाई लिएर विभिन्न टिका टिप्पणी भएको छ ।
माओवादी नेतृ सावित्रा चौलागाई अभियानलाई शंकास्पद भन्दै फेसबुकमा लेख्छिन्– ‘मासुभात ५५ लाख, श्रमदानमा जानेको तलब भता २७ लाख अनि नगरपालिकाको बेरुजु ४२ करोड ? जनताले खोज्नु होला ।’
सामाजिक सञ्जालमा मासुभात र ज्यालाबारे धेरै आलोचना भएपछि मेयर हर्कराज राईले खाएको कुरामा डाहा नगर्नु भन्दै श्रमदानमा आएर मासुभात खान भनेका छन् ।
यसअघि पनि श्रमदानमा संकलन भएको रकम र खर्च अपारदर्शी भएको भन्दै चर्काे आलोचना भएको थियो । धेरै आलोचना भएपछि अभियानका प्रोजेक्ट मेनेजर भनिएका दत्त लिम्बूले श्रमदानमा आएको पैसाको हिसाब नखोज्न चेतावनी दिएका थिए ।
सार्वजनिक गरिएको आय–व्यय विवरण अनुसार विभिन्न दाताहरुबाट ४ करोड ८२ लाख ५२ हजार ३५ रुपैया नगद सहयोग संकलन भएको थियो भने दाताहरुले नै १ करोड २० लाख ३८ हजार ७०४ रुपैयाँ बराबरको पाइप खरिद गरेर सहयोग गरेका थिए ।
यस्तै, खानेपानी बोर्डबाट पनि ६६ लाख ५१ हजार २२० रुपैयाँ बराबरको पाइप प्राप्त भएको देखाइएको छ । आयमध्ये ७ लाख ३३ हजार ९४८ रुपैयाँ पाइप खरिदको भुक्तानी गर्न बाँकी रहेको र मर्मत तथा फिटिङको पनि ३४ हजार ४ सय रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको पनि देखाइएको छ ।
यसैगरी, खर्चतर्फ दाताबाट र खानेपानी बोर्डबाट प्राप्त भएको बाहेक अभियानमार्फत पाइप खरिदमा ४ करोड ९४ लाख ५९ हजार ७०१ रुपैयाँ भएको भएको छ भने इन्धन खर्च ७ लाख १२ हजार ९९९, भाडा ढुवानीमा २९ लाख ९४ हजार ८७८ रुपैयाँ, खाना तथा खाजा, पानीमा ५० लाख २४ हजार ५५८, ज्याला खर्च २७ लाख १ हजार ५२, टोचन तार र भल्वमा ४२ लाख ९७ हजार ४१० रुपैयासहित कुल खर्च ६ करोड ७८ लाख ७७ हजार ९६४ रुपैयाँ भएको जनाइएको छ ।
Discussion about this post