विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा खुकुरी देखाएर शनिबार साँझ एकजना व्यक्तिमाथि लुटपाट भएको छ ।
पथरी–जाँते भित्री सडक खण्डको जंगलमा लेटाङ नगरपालिका–८ का ३७ वर्षीय ओमप्रकाश रानामगर लुटिएको प्रहरीले जनाएको छ ।
पथरी बजारबाट प्लम्बिङको सामान लिएर मोटरसाइकलमा फर्कँदै गरेका मगरमाथि ५ जनाको समूहले लुटपाट गरेका थिए ।
रानामगरले आफ्नो साथमा रहेको ओप्पो मोबाइल र ४ हजार रूपैयाँ नगद लुटिएको जानकारी प्रहरीलाई गराएका थिए ।
रानामगरका अनुसार घटनामा संलग्नमध्ये १ जनाले रेनकोट र १ जनाले रातो टोपी लगाएका थिए ।
केही प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारी अनुसार लुटपाटमा ५ जना संलग्न थिए । घटनापछि हुलिया परिवर्तन गरेर घटनास्थलबाट उनीहरु फरार बनेको उनीहरुले बताएका छन् ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले घटनामा संलग्नको खोजी तीव्र पारिएको जानकारी दिए ।
Discussion about this post