विराटनगर । विराटनगरमा एकजना साइकलयात्रीमाथि भएको एउटा अमानवीय घटनामा संलग्नविरुद्ध आइतबार जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको छ ।
प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै अभियुक्तविरुद्ध अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको हो ।
उक्त मुद्दामा विराटनगर महानगरपालिका–४ का १९ वर्षीय आयुष भेटुवाल र १७ वर्षीय किशोरलाई अभियुक्त बनाइएको छ । भेटुवालविरुद्ध ज्यान मार्ने उद्योग र किशोरविरुद्ध ज्यान मार्ने उद्योगको मतियारका रूपमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
घटनामा संलग्न भनिएका तेह्रथुमको फेदाप गाउँपालिका–४ का ३० वर्षीय रोशन कार्कीविरुद्ध मुद्दा नचल्ने निर्णय सरकारी वकिलको कार्यालयबाट भएको छ । घटनापछि कार्की र १७ वर्षीय किशोर फरार छन् । भेटुवाल पक्राउ परेका थिए ।
उनीसँग अदालतले सोमबार बयान लिने छ । बयान लिएर वादी नेपाल सरकार तथा प्रतिवादीका कानुन व्यवसायीबीचको थुनछेक बहस सकिएपछि मुद्दाको हकमा अदालतबाट आदेश आउने सूचना अधिकारी बुढाथोकीले बताए । अदालतले भेटुवाललाई साधारण तारेख वा धरौटी लिएर छाड्ने अर्थात पूर्पक्षका लागि कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्ने छ ।
गत असार २० गते राति ८ बजे विराटनगर–४ दूध फारम चोकमा साइकल यात्रीमाथि अमानवीय व्यवहार भएको थियो । साइकलमा हिँडिरहेको अवस्थामा विराटनगर–६ का २७ वर्षीय पवनकुमार साह हलुवाईको अनुहारमा भेटुवालले मुक्का प्रहार गरेका थिए ।
गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटुवालले दौडिएर आउँदै मुक्काले हानेपछि साह साइकलबाट सडकमै ढलेका थिए ।
त्यसपछि बेहोस भएका साहको अनुहारबाट रगत बगेको थियो । घोप्टो परिरहेको रक्ताम्य अवस्थामा अमानवीय शैलीमा दुवै खुट्टा समातेर घिसार्दै उनलाई सडकको किनारमा छाडेर भेटुवाल हिँडेका थिए । लडिरहेको साहको साइकल १७ वर्षीय किशोरले सडकको छेउमा ल्याएर फ्यालिदिएका हुन् ।
कारका चालक कार्कीले कारको ढोका खोलेर घटना हेरिरहे । प्रत्यक्षदर्शी उनले घटना हुन नदिन कुनै भूमिका खेलेनन् । त्यसपछि घटनामा संलग्न दुवै जनालाई उनले भगाए । कारसहित तीनैजना फरार बनेका थिए । घाइतेलाई उपचारका लागि लगेनन् ।
गलत दिशाबाट साइकलमा आइरहेका साहले अपशब्दसहित गाली गरेपछि आवेशमा आएर आफूले मुक्का प्रहार गरेको भेटुवालले स्वीकार गरेका छन् । मुक्का प्रहारबाट साह ढलेपछि मरेको ठानेर किनारमा उनलाई छाडेर आफूहरु भागेको बयान अनुसन्धानका क्रममा भेटुवालले दिएका छन् ।
प्रहरीको अनुसन्धानबाट भेटुवालसहितले मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१) अन्तर्गत ज्यान मार्ने उद्योग कसूर गरेको पुष्टि भएको छ । दफा १८३ (२) बमोजिम सजायको माग दाबी लिनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो । पक्राउ परेका भेटुवालसहित दुई जना फरार रहेको देखाएर प्रहरीले मिसिल बुझाएको हो । प्रहरीले १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवानाको मागदावी लिएको छ ।
Discussion about this post