इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सेवाप्रवाहमा सुधार ल्याउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन्।
उपमहानगर क्षेत्र भित्रका सरकारी कार्यालयका प्रमुखहरुलाई कार्यालयमा बोलाएर कार्यालयहरुबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिएका हुन् ।
‘उपमहानगरको सेवामा समस्या भए हामी सुधार गर्छौं’, पौडेलले भने, ‘अरु कार्यालयहरुका समस्या प्राथमिकता अनुसार सुधार गर्दै जान अनुरोध गर्छु, इटहरी भित्रका कुनैपनि कार्यालयले समयमा सेवा दिएनन्, जनतालाई दुःख दिए र सेवा दिनेक्रममा समस्या आए भन्ने कुरा सुन्नु नपरोस् ।’
कार्यक्रममा उपमेयर संगीता चौधरीले इटहरीलाई समृद्ध बनाउन सबै पक्षको साथ र सहयोग जरुरी रहेको बताइन्। उनले इटहरी भित्रका सरकारी कार्यालयहरुको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सुझाव दिइन्।
प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले नगरका सेवासुविधालाई प्रभावकारी रुपमा प्रवाह गर्न तत्पर रहेको भन्दै कुनै गुनासो रहेमा सिधै सुझाव दिन आह्वान गरेका छन् ।
इटहरी भित्र कार्यालय रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इलाका प्रहरी कार्यालय, राजश्व कार्यालय, सडक, खानेपानी, विद्युत, यातायात, हुलाक, टेलिकम, लगायतका कार्यालयका प्रमुखहरुले आफुहरु जनताको गुनासो नआउने गरी काम गर्ने प्रतिबद्दता जनाएका थिए ।
Discussion about this post