विराटनगर । विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या गरिएको घटनामा प्रहरीले हालसम्म ५ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक धरानका २९ वर्षीय सुजन तामाङ पक्राउ परेका छन् ।
धरान घर भइ इटहरी बस्दै आएका उनलाई प्रहरीले विराटनगरमा शुक्रबार बेलुका पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार सुजन रोहितको हत्यामा प्रत्यक्ष संलग्न व्यक्ति हुन् ।
यसअघि प्रहरीले मोरङको लेटाङ–१ का ३५ वर्षीय दीपक तिम्सिना, झापाको भद्रपुर–१ पृथ्वीनगर घर भइ धरान–८ भोटेपुल बस्दै आएका ३० वर्षीय प्रकाश लिम्बू, धरान–१० का ३४ वर्षीय अनसन तामाङ र विराटनगर–१५ जनपथ टोलका ४१ वर्षीय अज्जु भनिने अजयकुमार शर्मालाई पक्राउ गरिसकेको छ ।
लुटपाटमा संलग्न समूहले साउन ५ गते साँझ ५ः२० बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका–२० सेउती पुलनजिक गोली हानेर रोहितको हत्या गरेको थियो । धनकुटाको मूलघाटबाट फर्कने क्रममा चारकोसे जंगलछेउ उनीमाथि आक्रमण भएको थियो ।
रोहित र उनीसँगै रहेकी युवती सेउती पुलनजिकै जंगलमा रोकिएका थिए । समूहले लुट्न खोज्दा रोहितले प्रतिकार गरेपछि उनीमाथि गोली प्रहार भएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दीपक र अनसनको साथबाट हत्यामा प्रयोग गरिएको सेमी अटोमोटिक पेस्तोल, नौ राउन्ड गोली, दुई थान म्यागजिन, पाँचवटा कालो झोला, चारवटा ‘लेडिज ब्याग’, दुईवटा खुकुरी, पाँचवटा मोबाइल, औंठी र गोलीको खोकालगायत प्रहरीले बरामद गरेको थियो ।
सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार रोहितमाथि दीपकले गोली प्रहार गरेको खुलेको छ । उनका अनुसार रोहितको हत्यामा प्रयोग भएको पेस्तोल अजयले उपलब्ध गराएको पाइएको छ । हत्यापछि अनसनले पेस्तोल लुकाउन भूमिका खेलेको प्रहरीले जनाएको छ । प्रहरीले पेस्तोल धरानको विजयपुरस्थित दीपक र अनसनको कोठाबाट बरामद गरेको थियो ।
अजय पछिल्लो समय अपराधिक समूहलाई हतियार आपूर्ति गर्ने धन्दामा संलग्न रहेको एसपी ढकालले बताए । उनका अनुसार पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्दाामा १० वर्ष कैद भुक्तान गरेर दुई महिनाअघि छुटेका थिए । अनसन लागूऔषध मुद्दामा छ महिना कैद भुक्तान गरेर दुई वर्षअघि छुटेका हुन् ।
प्रकाश लागूऔषधका प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी माधवप्रसाद काफ्ले नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको हो । रोहितको हत्या घटनाको अनुसन्धान अघि बढाउन र हत्यारालाई पक्राउ गर्न कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले विशेष टोली परिचालन गरेका थिए । बास्तोलाले प्रदेश प्रहरी कार्यालयका एसएसपी जयराज सापकोटाको नेतृत्वमा विशेष अनुसन्धान टोलीसमेत खटाएका छन् ।
पक्राउ परेको गिरोह मोरङ र सुनसरीमा विगतका शृङ्खलावद्ध लुटपाटमा संलग्न रहेको डीआईजी बास्तोलाले बताए । उनका अनुसार पेस्तोल आपूर्ति गर्नेदेखि हत्या र लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार एक ठाउँमा लुटपाट गरेपछि घटनामा संलग्न गिरोह तत्काल अर्को ठाउँ जाने गरेको पाइएको छ ।
रोहितको हत्यामा प्रयोग भएको पेस्तोल गिरोहले लुटपाट गरेको सुनसँग साटेर भारतको जोगवनीबाट नेपाल भित्राएको पाइएको प्रहरीले जनाएको छ । गिरोहले सुन दिएपछि पक्राउ परेकामध्ये अजयले पेस्तोल उपलब्ध गराएको पायएको प्रहरीले उल्लेख गरेको छ ।
Discussion about this post