इटहरी । सुनसरीको वराहक्षेत्र २ मा जंगली हात्तीको उपद्रोले स्थानीय बासिन्दा त्रसित भएका छन् ।
हात्ती गाउँमा प्रवेश गरेर जताततै उपद्रो गर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् ।
चारकोसे जङ्गलमा बसेर साँझपख गाउँ पस्ने हात्तीले स्थानीयको अन्न, बालीनाली खाने गरेका छन् ।
कतिपयको घर पनि भत्काएका छन् । स्थानीय कृष्णप्रसाद अधिकारीका अनुसार साउन १९ गते मध्यरातमा आएका सात वटा जङ्गली हात्तीले वराहक्षेत्र २ पुनर्वास डाँडाटोलका सुरेश परियारको फुसको घरको घेराबारा भत्काएर क्षति गरेको छ ।
वराहक्षेत्र वडा नम्बर २ को २५ वटा फुसको घरमा हात्तीले क्षति पुर्याएको छ । पुनर्वास, रेलवे लाइन, जब्दी, तोरी बारी, फोक्लेन टापु, चौँरी बारी, देवी थान क्षेत्रमा हात्तीले फुसका घर भत्काएर क्षति पुर्याएको वडा अध्यक्ष होमप्रसाद गौतमले बताए ।
आछाम हुँदै झापाको बाहुनडाँगीबाट सर्लाहीसम्म पुग्ने हात्तीहरू आहारा र वासस्थान खोजीमा हिँड्दा बर्सेनि झापा, मोरङ्, सुनसरी, उदयपुर र सप्तरी लगायतका तराईका जिल्लामा क्षति पुर्याउने गरेका छन् ।
वराहक्षेत्रकै ५ वडाको जङ्गलसँग जोडिएका गाउँमा हात्ती निस्कन थालेको वडाध्यक्ष रोहित काफ्लेले बताए। गत वर्ष नडाहा, खोरिया, बीचपानी, विशाल चौक र सिमरवना क्षेत्रमा हात्ती गाउँमा निस्कँदा गाउँ नै आतङ्कित भएको थियो ।
वराह सब डिभिजन वन कार्यालयका वन अधिकृत शिशुराज झाले हात्ती धपाउने कार्यदेखि हात्तीको निगरानीलाई तीव्रता दिएको बताए ।
वन कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका समितिदेखि हेरालु, स्थानीयवासीको संयुक्त रूपमा हात्ती धपाउँदै आएको उनको भनाइ छ ।
Discussion about this post