काठमाडौं । संविधान कार्यान्वयनको बहसको थालनी गर्ने कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौला ‘प्रमुख स्रोता’ का रुपमा सहभागी भएका छन् । सामान्यतया धेरै कार्यक्रमहरुमा प्रमुख अतिथिका रुपमा सहभागी हुने गरेका उनी यसपटक प्रमुख स्रोताका रुपमा सहभागी भएका हुन् ।
सिटौलासँगै काङ्ग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलगायतका नेता पनि स्रोताका रुपमा सहभागी भएका थिए ।
संविधानमा मौलिक हकमा उल्लेखित निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको हक लगायत विषय कार्यान्वयनमा नआएकोले विषय उठान गर्न यसको थालनी गरिएको नेताहरुले जनाएका छन्।
संविधानमा उल्लेखित हक अधिकार अक्षरस कार्यान्वयनमा आउनुपर्ने र त्यसको लागि जनप्रतिनिधि आफ्नो लागि हैन जनताको लागि काम गर्नुपर्छ भन्ने निष्कर्ष बहस कार्यक्रमको थियो ।
पुर्वरक्षामन्त्री भीमसेनदास प्रधानले कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए । त्यसपछि गण्डकी प्रदेशका सभासद जीत शेरचन, कोशी प्रदशका सभासद भुपेन्द्र राई, कांग्रेस केन्द्रीय सदस्य कुन्दन काफ्लेले सम्बोधन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सञ्चालक नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री बलदेव तिमल्सिनाले कार्यक्रमको निष्कर्ष सुनाउँदै ‘जनप्रतिनिधिले आफ्नो लागि होइन, जनताको लागि काम गर्नुपर्छ’ भन्ने वाक्यांश पढेर सुनाएका थिए ।
कार्यक्रममा उपस्थित सबैले ताली बजाएर त्यसलाई अनुमोदन गराएका थिए ।
Discussion about this post