विराटनगर । संखुवासभा जिल्ला कारागारमा सुरक्षा घेराभित्र दुईजना कैदीको मृत्यु भएपछि प्रहरीको भूमिकामा प्रश्न उब्जिएको छ । कारागारबाट भाग्न खोजेका कैदीलाई कुटपिट गरिएको र त्यही कारण उनीहरुको मृत्यु भएको पाइएको छ ।
कारागारभित्र सीसी क्यामेरा जडान गरिएको छ । प्रमाण मेटाउने गतिविधि नभएको अवस्थामा सीसी क्यामेराको फुटेजबाट घटनाको वास्तविकता खुल्ने अनुमान गरिएको छ ।
कारागारभित्र झडप हुँदा कैदीको मृत्यु भएको भन्दै स्थानीय प्रशासन र प्रहरीको मिलेमतोमा घटनालाई तोडमोड गरेर सार्वजनिक गरिएको थियो ।
सादा पोसाकमा रहेका चार–पाँच जना प्रहरीले उनीहरुमाथि कुटपिट गरेको आरोप लागेको छ । अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले प्रहरीकै संलग्नतामा घटना भएको बताउँदै आएका छन् ।
गल्ती लुकाउन र झडपमा संलग्न भएर कैदीको हत्या गरेको देखाउन कारागारका केही कैदीबन्दीलाई नियन्त्रणमा लिएपछि विवाद अरु बढेको छ । घटनाको अनुसन्धान गर्न भन्दै प्रहरीले कारागारबाट निकालेर नौजना कैदीबन्दीलाई हिरासतमा लिएको हो । उनीहरुको विवरण सार्वजनिक गरिएको छैन ।
कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेपछि कैदीहरु संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिँदै कारागार प्रशासनको जिम्मा लगाएर पुनः भित्र हालिएपछि कैदीबन्दीबीच झडप भएको र त्यही क्रममा उनीहरुको मृत्यु भएको दाबी प्रहरीले गर्दै आएको छ ।
घटनाको छानबिनका लागि जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको छ । छानबिन समितिमा प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल र प्रशासन कार्यालयका नायब सुब्बा तारणी घिमिरे सदस्य छन् ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले छानबिनबाट सत्यतथ्य पत्ता लाग्ने दाबी गरेका छन् । घटना शंकास्पद देखिएकाले छानबिनका लागि समिति बनाइएको उल्लेख गर्दै उनले सत्यतथ्य पत्ता लगाइने बताए । छानबिन समितिले सीसी क्यामेराको ‘हार्डडिक्स’ नियन्त्रणमा लिइसकेको प्रजिअ कार्कीले बताए ।
२५ जना क्षमताको कारागारमा हाल ८ जना महिलासहित १ सय ३८ जना कैदी बन्दी छन् ।
यसैबीच, घटनालाई लुकाउन भूमिका खेलेपछि संखुवासभाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारको भूमिका विवादित बनेको छ । डीएसपी गोदारले उपचारका क्रममा खाँदबारी अस्पतालमा कैदीको मृत्यु भएको बताउँदै आएका छन् ।
भाग्ने उद्देश्यले राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर उनीहरु कम्पाउण्डमा निस्किएका कारण प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएपछि कारागारभित्र कैदीबन्दीबीच झडप भएको उनको दाबी छ ।
झडपपछि अचेत भएको घाइते अवस्थामा भेटिएका कैदीलाई उद्धार गरेर उपचारका लागि लगिएको उनले बताएका छन् ।
कारागारका अन्य कैदीबन्दीले कारागारभित्र झडप नभएको बताएका छन् । घटना गराएको भन्दै दोषी प्रहरीमाथि कारबाहीको माग राखेर कैदीबन्दीले बुधबार दिउँसो कारागारभित्रबाटै प्रहरीविरुद्ध प्रदर्शन, नाराबाजी र ढुंगामुडा पनि गरेका थिए ।
Discussion about this post