काठमाडौं । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार यसवर्ष हालसम्म १० हजार ७ सय २६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
डेंगु सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । संक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन् ।
महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गी सङ्क्रमण बढिरहेको बताएका छन् ।
सन् २०२२ मा नेपालमा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण भएको थियो । तीमध्ये ८८ जनाको मृत्यु भएको थियो ।
यसपटक सबैभन्दा धेरै सुनसरीमा संक्रमित भेटिएका छन् । महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेङ्गी सङ्क्रमण भएको छ ।
कोशी प्रदेशमा आठ हजार एक सय नौ जना, बाग्मती प्रदेशमा एक हजार चार सय ५३ जना, गण्डकी प्रदेशमा चार सय ७१ जना, सुदूरपश्चिम प्रदेशमा तीन सय ९३ जना, लुम्बिनी प्रदेशमा दुई सय १५ जना, मधेस प्रदेशमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा सङ्क्रमण देखिएको छ ।
मोरङमा एक हजार तीन सय ४४, धादिङमा एक हजार २७ जना, कास्कीमा दुई सय २५ जना, धनकुटामा दुई सय २३, दार्चुलामा एक सय ९२ जना, झापामा एक सय ८२, काठमाण्डौमा एक सय ५१, सङ्खुवासभामा एक सय ४८ जना र तनहुँमा ७९ जना बिरामी भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
Discussion about this post