विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीको सुरक्षामा स्थानीय प्रशासन र प्रहरीको गम्भीर हेलचेक्र्याइँ देखिएको छ । प्रमुख जिल्ला अधिकारीको निगरानीमा रहने कारागारमा सुरक्षा घेराभित्रै प्रहरीको कुटपिटबाट गत बुधबार दुईजना कैदीको मृत्यु भएको थियो ।
घटनापछि राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायले अनुगमन गरिरहेका छन् । गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक एवं प्रवक्ता कमलप्रसाद पाण्डेको नेतृत्वमा समिति बनाएर घटना छानबिन गरिरहेको छ ।
स्थानीय प्रशासनले पनि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा छानबिन समिति बनाएको थियो । गृहले नै समिति बनाइसकेपछि घिमिरे नेतृत्वको समिति निस्क्रिय बनेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि एसपी (प्रहरी उपरीक्षक) ऋषिराम कँडेलको नेतृत्वमा छानबिन गरिरहेको छ । सबै छानबिन समितिको कानुनी वैधतामाथि सरोकारवालाले प्रश्न उठाएका छन् । उनीहरुले नेपाल सरकारबाट न्यायिक छानबिन समिति बनाएर निष्पक्ष र गम्भीरतापूर्वक छानबिन गरी घटनालाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने माग राखेका छन् ।
कैदीको शव बुझ्न परिवारले मानिरहेका छैनन् । फरेन्सिक विशेषज्ञ चिकित्सकको उपस्थितिमा शनिबार जिल्ला अस्पताल खाँदबारीमा शवको पोस्टमार्टम गराइएको थियो । कुटपिटबाट कम्मरदेखि तल तथा शरीरका विभिन्न भागमा चोटपटक र निलडाम देखिएको अस्पताल स्रोतले बतायो । कुटपिटकै कारण रक्तसञ्चार प्रक्रिया अवरुद्ध भएर कैदीको मृत्यु भएको प्रारम्भिक निष्कर्ष छ ।
झ्यालको रड काटेर कारागारबाट भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर प्रहरीले कुटपिट गर्दा कैदीहरु संखुवासभाको मादीका विनोद तोलाङ्गी र नुवाकोटको ककनीका आकाश बालामीको गत बुधबार बिहान मृत्यु भएको थियो ।
प्रशासन र प्रहरीको मिलेमतोमा तथ्यलाई तोडमोड गर्दै कारागारभित्र कैदीबन्दीबीच झडप एवं कुटपिट हुँदा दुई जनाको मृत्यु भएको भनेर सार्वजनिक गरिएको थियो । तर, कारागारको सुरक्षामै खटिएका प्रहरीको कुटपिटबाट मृत्यु भएको पुष्टि सीसी क्यामेरा फुटेजबाट भइसकेको छ । तोलाङ्गी र बलामीमाथि अरु कैदीबन्दीबाट समेत कुटपिट भएको दाबी प्रशासनको छ ।
भाग्न खोजेका कारण नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएपछि उनीहरुमाथि कैदीबन्दीले कुटपिट गरेको भनेपछि स्थानीय प्रशासन र प्रहरीको भने चर्को आलोचना भयो । संखुवासभाका प्रजिअ शिवकुमार कार्की, जिल्ला प्रहरी प्रमुख डीएसपी (प्रहरी नायव उपरीक्षक) वीरेन्द्र गोदारमाथि प्रहरीको संलग्नता नदेखाउन वास्तविकता लुकाएर घटनालाई तोडमोड गर्न भूमिका खेलेको आरोप लाग्यो ।
तोलाङ्गीका दाजु प्रकाश र बलामीका दाजु रमेशले कारागारमा सुरक्षाको नेतृत्व गरेर बसेका असइ (प्रहरी सहायक निरीक्षक) लक्ष्मी चौधरी र निमित्त जेलर राजेन्द्र घिमिरेविरुद्ध किटान जाहेरी दिएका छन् । कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न चौधरीविरुद्ध आइतबार जिल्ला अदालत चैनपुरबाट म्याद थप भएको छ । घिमिरेविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा कारागारका १० प्रहरी र नौ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अरुलाई बचाएर चौधरी र घिमिरेविरुद्ध मात्रै जाहेरी दिनका लागि दबाब आएको पीडित परिवारको भनाइ छ ।
Discussion about this post