विराटनगर । सूचनाको हकका अभियन्ता तथा सञ्चारकर्मीहरुले समयमै सूचना उपलब्ध गराउनुपर्ने माग राखेर आइतबार कोशी प्रदेशका मन्त्रालयहरुमा खबरदारी गरेका छन् ।
१७ औं राष्ट्रिय सूचना दिवसको अवसर पारेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, कृषि तथा सहकारीलगायतका मन्त्रालयहरुमा खबरदारी गरिएको हो ।
विभिन्न मन्त्रालयमा पुगेर सूचनाको हकका अभियन्ता राजु श्रेष्ठ, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका कोशी प्रदेश ब्युरो प्रमुख किशोर बुढाथोकी, पत्रकारहरु चुमन बस्नेत, नवीन कर्ण, सोनुकुमार दाससमेतको समूहले खबरदारी गरेको थियो।
खबरदारीका लागि ‘सूचनाको अधिकार, विकास र समृद्धिको आधार’, ‘नागरिकलाई सूचना दिन्नभन्ने सूचना अधिकारीलाई कारबाही गर’, ‘सूचनाको स्वतन्त्रता कायम गर’, ‘लोकतन्त्रको प्राणवायु नै सूचनाको हक’ लगायतका नारा लेखिएको टोपी लगाएर उनीहरु मन्त्रालयमा पुगेका थिए ।
अभियन्ताहरुसँग विभिन्न मन्त्रालयका सचिव, प्रवक्ता, सूचना अधिकारीलगायतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलसमेत गरेका थिए ।
उनीहरुले सूचनाको हक नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले माग गरिएको सूचना समयमै उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सचिव माधवप्रसाद पोखरेल, अर्का सचिव ईश्वरकुमार गिरीलगायतले नेपालको संविधानले सूचनाको हकलाई महत्वपूर्ण मौलिक हकका रूपमा स्वीकार गरेका कारण माग गरिएको सूचना समयमै उपलब्ध गराइने प्रतिबद्धता जनाए ।
नेपालको संविधानको धारा २७ को कार्यान्वयनका लागि जारी भएको सूचनाको हक सम्बन्धी ऐन, २०६४ लागू भएको दिन भदौ ३ लाई राष्ट्रिय सूचना दिवसका रुपमा प्रत्येक वर्ष मनाउने गरिएको छ ।
मन्त्रालयहरुले माग गरिएका सूचना समयमा उपलब्ध नगराउने, लुकाउने, तथ्यलाई तोडमोड गर्ने, बदनियत राखेर सूचना दिन इन्कार गर्ने, आंशिक सूचना उपलब्ध गराउने तथा मागकर्तालाई दुःख दिने नियत राखेर निर्णयहरु गर्ने गरेको सूचनाको हकका अभियन्ता राजु श्रेष्ठले बताए ।
उनका अनुसार सूचना उपलब्ध नगराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं उद्योग, कृषि तथा सहकारी मन्त्रालयविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदनसमेत गरिसकिएको छ ।
Discussion about this post