झापा । नेपाली कांग्रेस शिवसतासी नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गमलामा रोपिएको बिरुवामा पानी हालेर नगरसभाको उदघाटन गरे ।
थापाले आजका युवाको भविष्य सुनिश्चित गर्न नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउनुपर्ने बताए । ब्यवस्था परिवर्तनका लागि गरिएको आन्दोलन सफल भएको बताउँदै उनले नेपालमा अब प्रत्येक नागरिकको अवस्था परिवर्तनका लागि आर्थिक समृद्धिका एजेन्डासहित सार्थक आन्दोलनको आवश्यकता औँल्याए ।
हरियो पासपोर्ट बोकेर त्रिभुवन बिमानस्थलबाट बाहिर जाँदा जुन देश गए पनि उद्योगपति बिनोद चौधरी र सडकमा मकै पोल्ने नागरिकको परिचय एउटै ‘नेपाली’ हुन्छ भन्दै नेता थापाले सबैको समान आर्थिक अवस्था र नागरिकको जीवन परिवर्तनका लागि नेपाललाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबे, पुर्ब जिल्ला सचिव सन्तोष मेनेङ्बो, भक्तिप्रसाद सिटौला, महाधिवेशन प्रतिनिधि पर्शुराम ढुंगाना, मचिन्द्र शेर्मा, खड्गबहादुर कार्की लगायतले मन्तब्य राखेका थिए ।
पार्टीका नगर सभापति अशोक बस्नेतले आफ्नो कार्यकाल शुरु भएदेखि हालसम्म गरेका कार्यहरुको विवरण र आगामी योजना समेटिएका प्रतिबेदन प्रस्तुत गरे ।
सन्तकुमार फेवदिनले स्वागत गरेको कार्यक्रमको सञ्चालन होम दुलालले गरेका थिए ।
Discussion about this post