विराटनगर । विराटनगर महानगरपालिका–९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा (शिशु) चिकित्सकले नै बेचेको खुलासा भएको छ ।
अस्पतालबाटै बिक्री गरिएको नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ मा जीवितै फेला पारेको हो । प्रहरीका अनुसार शिशुलाई गत असार १४ गते जन्मनसाथ अस्पतालबाटै गायव पारिएको थियो ।
अन्दाजी ४६ वर्षीया दिलमाया राजवंशीको घरबाट मंगलबार साँझ ५ः३० बजेतिर बच्चालाई सकुशल उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले बच्चा बिक्री गरेको खुलेको छ ।
अस्पतालबाटै बच्चा गायव पारिएको विषय बाहिरिएपछि घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका थिए । प्रहरीका अनुसार दिलमायाका छोरा सूर्यनारायण र बुहारी श्यामबत्तीको बिहे गरेको १० वर्षसम्म सन्तान नभएको पाइएको छ ।
‘बिहे गरेको लामो समयसम्म सन्तान नभएपछि उनीहरु बेवारिसे बच्चाको खोजीमा रहेछन् । त्यही बेला अविवाहित युवती बच्चा जन्माउन अस्पताल आइन्,’ प्रहरी स्रोतले भन्यो, ‘चिकित्सक, युवतीका प्रेमी (बच्चाका बाबु) र अस्पतालमा काम गर्ने कर्मचारीसँग कुरा मिलाएर बच्चा लगेको देखिन्छ । पैसा लिएर बच्चा दिलमायाको परिवारलाई उपलब्ध गराएको पाइएको छ ।’
कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) डा. तपेश्वरले ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाई कर्मचारी सुधा राजवंशीमार्फत दिलमायाको परिवारलाई बच्चा बेचेको प्रहरीको भनाइ छ । ‘दिलमायाका परिवारले ५० हजार रूपैयाँ तिरेर बच्चा लगेको बताएका छन् । तर, हामीसँग ५ लाखमा बिक्री गरिएको कुरा आएको छ,’ डीएसपी दाहालले भने, ‘यस विषयमा थप अनुसन्धान भएपछि वास्तविकता पत्ता लाग्छ । अहिलेसम्म बच्चा खरिद–बिक्रीको रकमका बारेमा पुष्टि भइसकेको छैन ।’
कति रूपैयाँमा बच्चा बिक्री गरिएको हो भनेर यकिन गर्न विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको उनले बताए । उनका अनुसार पछि बच्चालाई विराट शिक्षण अस्पताल लगेर एक हप्तासम्म उपचार गराएको पनि पाइएको छ । ‘उपचारमा २ लाख रुपैयाँ खर्च भयो भनेका छन्,’ दाहालले भने ।
प्रहरीले डा. तपेश्वरसँगै उनको क्लिनिकमा काम गर्ने निर्मला यादव, ग्रीनक्रस अस्पतालकी कर्मचारी सुधा राजवंशी, अविवाहित युवतीका प्रेमी (बच्चाका बाबु) गोविन्द राई, बच्चा जिम्मा लिने दिलमाया र उनका छोरा सूर्यनारायणलाई पक्राउ गरिसकेको छ ।
प्रहरीका अनुसार निर्मला डा. तपेश्वरको क्लिनिकमा कार्यरत रहेर बिरामी ओसारपसार गर्ने बिचौलियाको काम गर्थिन् । बच्चा बिक्री गरेको घटनामा संलग्नता देखिएपछि निर्मलालाई पनि नियन्त्रणमा लिइएको डीएसपी दाहालले बताए ।
उनका अनुसार दिलमाया र उनका छोरा सूर्यनारायण अस्पतालसम्म बच्चा लिन गएका थिए । ‘बच्चा लिन मोटरसाइकलमा अस्पतालसम्म पुगे,’ दाहाल भन्छन्, ‘बच्चा जिम्मा लिएपछि उनीहरु घर फर्किए ।’ यो घटनामा हालसम्म ६ जना पक्राउ परिसकेको उनले बताए ।
उनका अनुसार डा. तपेश्वर र गोविन्द शुक्रबार पक्राउ परेका थिए । उनीहरुमाथि अनुसन्धान गर्ने क्रममा अरु पक्राउ परेका हुन् । प्रहरीले पक्राउ गरेसँगै बिरामी परेको भन्दै डा. तपेश्वर उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका थिए ।
डा. तपेश्वरलाई उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भनेर अस्पताल प्रशासनले घटनाको सुरुवाती अनुसन्धानमा प्रहरीलाई असहयोग गरेको थियो । कोसी अस्पताल प्रशासन र चिकित्सकको असहयोगका कारण प्रहरीले उनलाई म्याद थप गर्न अदालतसम्म पु¥याउन पाएन । तर, प्रक्रिया पूरा गरेर उनीविरुद्ध प्रहरीले आइतबार नै म्याद थप गरेको थियो ।
पक्राउ परेका सबै जनाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइसकिएको डीएसपी दाहालले बताए । उनका अनुसार डा. तपेश्वरलाई कोसी अस्पतालले मंगलबार डिस्चार्ज दिएको छ । अस्पतालबाट डिस्चार्ज हुनसाथ प्रहरीले उनलाई हिरासतमा लिएको छ । बच्चा गायव पारिएको गम्भीर घटनामा अनुसन्धान गर्न असहयोग गरेपछि कोसी अस्पताल र चिकित्सकलाई पनि प्रहरीले मुद्दामा प्रतिवादी बनाउने तयारी गरेको थियो ।
बिहे नभएकी २६ वर्षीया युवतीले ‘नर्मल डेलिभरी’मार्फत ग्रीनक्रस अस्पतालमा असार १४ गते नवजात शिशु (छोरी) जन्माएकी थिइन् । प्रेमी भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । उनीबाट भोलिपल्ट जन्मिएको शिशुलाई त्यही दिन बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोविन्द र युवती २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । बिहे गर्ने प्रलोभन देखाएर गर्भवती बनाएपछि गोविन्दले युवतीलाई बच्चा जन्माउने भनेर विराटनगर ल्याएका थिए । सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लिएर गएका थिए ।
उक्त क्लिनिक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. तपेश्वरकै हो । आफ्नो क्लिनिकमा परीक्षण गरिसकेर पैसामा कुरा मिलाएपछि युवतीलाई उनले प्रसूतिका लागि ग्रीनक्रस अस्पताल लगेका थिए । वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई डिस्चार्ज दिएर पठाइएपनि बच्चा भने जिम्मा नलगाएको डीएसपी दाहालले बताए ।
अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले सुनसरीको इटहरी लिएर गएको युवतीले बताएकी छन् । इटहरी लगेर होटलमा राखेपछि गोविन्दले छाडेर हिँडेको र सुत्केरी अवस्थाकी आफू अलपत्र परेको गुनासो युवतीको छ ।
‘बच्चा खोइ भनेर सोध्दा उहाँ (गोविन्द)ले अस्पतालमै छ भन्नु भयो । दुई दिनपछि मलाई अलपत्र छाडेर हिँड्नु भयो,’ उनले भनिन्, ‘त्यसपछि सुनसरीकै सोनापुरमा कोठा भाडामा लिएर बसें । उहाँ सम्पर्कविहीन हुनु भयो ।’
उनले आफूले जीवितै जम्माएको बच्चा नर्सहरुले लिएर गएको र डिस्चार्ज गर्दा जिम्मा नदिएको बताइन् । चिकित्सकसँग मिलेमतो गरेर गोविन्दले बच्चा गायव बनाएको भन्दै ती युवतीले साउन ३२ गते मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले बच्चा सकुशल फेला पारेको हो ।
डा. तपेश्वरले भने ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको दाबी गर्दै आएका थिए । तर, पक्राउ परेका गोविन्द र बच्चाकी आमा (युवती)ले बच्चा आफूहरुसँग नरहेको बताए । युवतीले भने प्रसूतिका लागि डा. तपेश्वरलाई ३५ हजार रूपैयाँ तिरेको पनि बताइन् । ‘सुरुमा ५० लाख मागेका थिए । पछि ३५ हजारमा कुरा मिल्यो,’ उनले भनिन् ।
ग्रीनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासले भने तौल कम र स्वास्थ्य अवस्था नाजुक रहेकाले थप उपचारका लागि शिशुलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको बताएका थिए । उनका अनुसार जन्मदा शिशुको तौल ९ सय ५० ग्राम मात्रै थियो ।
कोसी अस्पतालका पूर्वमेसुसमेत रहेका ६८ वर्षीय डा. तपेश्वरमाथि विगतमा पनि बच्चा बिक्री गरेको आरोप लागेको छ । अविवाहित युवती तथा अवैध गर्भबाट जन्मिएको बच्चा मोटो रकम लिएर सन्तानविहीन दम्पतीलाई बिक्री गर्ने गरेको आरोप उनीमाथि लागेको हो । प्रहरीले पृष्ठभूमिसमेतलाई आधार बनाएर उनीमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार उनी लामो समयदेखि यो धन्दामा संलग्न रहेको पाइएको छ ।
‘अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अविभावकबाट समेत रकम लिने गरेको पाइयो । शिशुलाई मोटो रकम लिएर सन्तान नभएकालाई बिक्री गर्ने गरेको खुल्यो,’ प्रहरी स्रोतले भन्यो, ‘शिशु बिक्री गर्दा १ देखि ५ लाख रूपैयाँसम्म लिने गरेको कुरा आएको छ । थप अनुसन्धानपछि यस विषयमा प्रष्ट हुन्छ ।’ स्रोतका अनुसार अवैध गर्भ बसेकालाई डा. तपेश्वरसँग भेटाउने गिरोह सक्रिय छ ।
त्यो गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ । नर्स र अस्पतालका कर्मचारीदेखि उनको क्लिनिकमा बिचौलियाको काम गर्नेसम्मले अवैध गर्भ बसेकालाई डा. तपेश्वरसँग भेट गर्ने वातावरण मिलाउने गरेको पाइएको छ । अवैध गर्भलाई पतन गर्ने र गर्भपतन गर्न नमिल्ने शिशुलाई रकम लिएर बिक्री गर्ने गरेको प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् । उनका अनुसार शिशु व्यवस्थापन गरिदिएवापत अभिभावकसँग पनि अलग्गै रकम लिने गरेका रहेछन् ।
प्रसूति तथा स्त्री रोग विशेष डा. तपेश्वरले कोसी अस्पतालमा अढाइ दशक काम गरेका थिए । त्यस क्रममा उनले अवैध सम्बन्धमाट जन्मिएका शिशुलाई मोटो रकम लिएर बिक्री गरेको आरोप छ । हालसम्म कति शिशु बिक्री गरेभन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालको मेसु थिए ।
Discussion about this post