इलाम । माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।
लेखा अधिकृत महिलासँग शाखाको कार्यकक्षमै अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि राईलाई कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिसको निर्णय गरिएको हो ।
गाउँ कार्यपालिका बैठकले लेखा अधिकृतलाई तत्कालका लागि जिम्मेवारीमुक्त गर्ने र सात दिनको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको पालिका अध्यक्ष कुशबहादुर थेबेले जानकारी दिए ।
‘मंगलबार बाहिरिएको भिडियो सिसिटिभीको हो वा होइन र कसरी बाहिरियो भन्नेबारे सत्य–तथ्य पत्ता लगाउन मन्त्रालयलाई नै छानबिनका लागि अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
अश्लील क्रियाकलापको भिडियो बाहिर आएपछि प्रमुख प्रशासकीय अधिकृत राईले पाएको ‘इन्टिग्रिटी आइकन अवार्ड–२०१९’ समेत खोसिएको थियो ।
एकान्टबिलिटी ल्याबका सहायक निर्देशक सुरेश चन्दले बिहीबार विज्ञप्ति जारी गरी राईले पाएको अवार्ड रद्द गरिएको जानकारी दिएका थिए ।
राईले इलामकै चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा अवार्ड पाएका थिए । तर, चुलाचुलीकै प्रमुख प्रशासकीय अधिकृत रहेका बेलासमेत राईले एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । घटना बाहिर आउन नदिई दुवै पक्षलाई राखेर सामसुम पारिएको थियो।
राई अहिले माइजोगमाई गाउँपालिकाबाट सरुवा भइसकेका छन् । प्रदेश मन्त्रालयमा सरुवा भएका राई त्यहाँबाट पनि झापाको बाहदशी गाउँपालिका सरुवा गएका छन् ।
उनलाई माइजोगमाईको घटनाको सिसिटिभी फुटेज बाहिरिएपछि बाहदशीमा पनि हाजिर गर्न रोक लगाइएको छ। सरुवा भई भदौ १४ मै बाहदशी पुगेका राईलाई शुक्रवार बसेको कार्यपालिका बैठकले आइन्दा हाजिर गर्न नदिई फिर्ता पठाउने निर्णय गरेको पालिकाले जनाएको छ।
गत असारमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राई र लेखाकी कर्मचारीले लेखाको कार्यकक्षमा अश्लील क्रियाकलाप गरेको दाबी गरिएको सिसिटिभी फुटेज मंगलबार बाहिरिएको थियो ।
सार्वजनिक भिडियोमा चुम्बन गरेका, हात समाएको, अँगालो हालेको र नगद लेनदेन समेत गरेको देखिन्छ ।
यसैबीच, नेपाली कांग्रेस गाउँपालिका समितिले विज्ञप्ति जारी गरी घटनाको गहन छानबिन गर्न र सत्य–तथ्य बाहिर ल्याउन अनुरोध पनि गरेको छ ।
पालिका सभापति नरेन्द्रकुमार देवानले विज्ञप्ति जारी गरी दोषीमाथि कडा कारबाही गर्न तथा पालिकाको गोप्य सिसिटिभी फुटेज बाहिर ल्याउने विषयमा समेत शंका पैदा भएको उल्लेख गरेका छन्।
Discussion about this post