काठमाडौं । बाँकेको शमशेरगन्ज र ढकेरी बीच राजमार्गमा रोकिराखेको ट्रकमा बस ठोक्किदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै बसका यात्रु हुन् । २९ जना घाइते भएका छन् । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको यात्रुबस राजमार्गमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राति सवा ९ बजे ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसका चालक र सहचालकसहित सात जनाको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षका काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५५ वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६० वर्षीय सानुराम थारु, चालक ४५ वर्षीय जुगबहादुर चन्द, सहचालकको मृत्यु भएको छ । सहचालकको नाम खुलेको छैन ।
कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घाइतेहरुको बाँकेको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बर्दियाको ठाकुरद्वारास्थित बेतनी सामुदायिक वनका उपभोक्ताहरूले रिजर्भ गरेको उक्त बस दाङको धारापानी र थारू संग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटना भएको हो । बिग्रिएर सडक किनारमा रोकिएको ट्रकमा बस ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Discussion about this post