इटहरी । परिवर्तनका लागि सामाजिक अभियानद्वारा पाक्षिक रुपमा आयोजना हुँदै आएको सामाजिक स्थास्थ्य क्लिनिकको ४५ औं संस्करण सम्पन्न भएको छ ।
धरान मोडल कलेजमा आयोजित उक्त कार्यक्रममा बिरामीहरुको मुटुमा लगाइएको पेसमेकरको अवस्थाको जाँच समेत निःशुल्क रुपमा गरिएको थियो । मुटुमा लगाइएको पेस मेकरको ब्याट्रीको अवस्था, धड्कनको अवस्था र त्यसको अवधिको बारेमा जानकारी दिइएको डा. प्रशान्त शाहले बताए ।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. शाहद्वारा परीक्षण गरिएको उक्त शिविरमा विशेषगरी मुटु, मधुमेह र उच्च रक्तचापका बिरामीको स्वास्थ्य परीक्षण गरिन्छ । २ वर्षभन्दा अघिदेखि यो कार्यक्रम सञ्चालन गरिएको परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले बताए ।
‘विशेषगरी ७० वर्षभन्दा माथिका बुवाआमाहरुका लागि आयोजना गरिएको यो कार्यक्रमको ४५ औं संस्करण सम्पन्न गरिसक्यौं’ बरालले भने । उनका अनुसार झापा गाउँपालिका, सुनसरीका बराहक्षेत्र, इनरुवा र धरानका विभिन्न वडाहरुमा समेत यो कार्यक्रम आयोजना भइसकेको छ ।
त्रिभुवन बरालको संयोकजत्वमा आयोजित कार्यक्रममा निःशुल्क सुगर परीक्षण र औषधी वितरण गरिएको थियो । मोहन श्रेष्ठ, वर्षा अग्रवाल, हेम ढकाल, जेनिशशाक्य लगायतका अभियन्ताहरुको सहभागिता रहेको कार्यक्रममा स्टाफ नर्स श्वेता भण्डारीले मधुमेह र ब्लड प्रेसर जाँच गरेकी थिइन् ।
यस कार्यक्रमबाट जेष्ठ नागरिकहरुलाई निकै सहज भएको सञ्चारकर्मी प्रदीप मेन्याङ्गवोले बताएका । आफ्ना बुवाको स्वास्थ्य परीक्षण गर्न आएका मेन्याङ्गवाले परिवर्तनका लागि सामाजिक अभियान वास्तविक रुपमा सामाजिक कार्य गर्ने संस्था रहेको बताउँदै अभियान र अभियन्ताहरुप्रति आभार व्यक्त गरे ।
Discussion about this post