झापा । बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका एक व्यक्तिको रुखमै मरण भएको छ ।
झापाको शिवसताक्षी नगरपालिका–८ रन्त चौक निवासी ७५ वर्षीय वृद्ध सन्तवहादुर तामाङको आज आइतबार बिहान रुखमै मरण भएको हो ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीका अनुसार बिहान साढे सात बजेतिर सन्तबहादुर घरनजिकैको ४० फुट अग्लो खरीको रुखमा बाख्रालाई घाँस काट्न चढेका थिए ।
घाँस काट्दा काट्दै उनी रुखमै बेहोस भई रुखको हाँगाको कापमा अड्किएका थिए ।
सन्तवहादुर रुखमा घाँस काट्दै गर्दा रुखमुनि उनकी श्रीमती फूलमाया तामाङ र छोरा कुमार दोर्जे तामाङ घाँस बटुल्दै थिए । तामाङ रुखमा अड्किएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
रुखमा अड्किएका सन्तबहादुरलाई रुखमा चढेर निकाल्न सक्ने अवस्था नभएपछि इलाका प्रहरी कार्यालय झिलझिलेले जेसीवीको सहायताले तामाङलाई निकालेको र उनको मृत्यु भइसकेको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।
प्रहरीका अनुसार तामाङलाई उच्च रक्तचापको समस्या थियो । उनको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल दमक पठाइएको छ । तामाङको रुखमै मृत्यु भएपछि हेर्नेको भीड लागेको थियो ।
Discussion about this post