खेमराज सापकोटा, इटहरी ।
भनिन्छ १२ वर्षमा त खोला पनि फर्किन्छ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा अहिले प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले जीत हात पारेका घनश्याम खतिवडा १२ वर्ष अघि मोरङ जिल्लाको छैटौं अधिवेशनमा ढकालसँगै ३२ मत अन्तरले पराजीत भएका थिए ।
गएराति सम्पन्न मतगणनामा खतिवडाले ५१२ मत ल्याएर विजयी हुँदा ढकालले ४३० मत प्राप्त गरेको निर्वाचन अधिकृत चुडामणी आचार्यले जानकारी दिए । सरल र शालिन स्वभावको नेताका रुपमा स्थापित नेता खतिवडाले अब एमाले कोशी प्रदेशको कमाण्ड समालल्ने छन् ।
अनेरास्ववियु कोशी प्रदेशका अध्यक्ष जीवी गजल भन्छन्,‘लोकतान्त्रिक प्रकृया अनुसार भएको निर्वाचनमा कमरेड विजयी हुनुभएको छ । अब नेकपा एमालेलाई सुदृढ र बलियो बनाउनका लागि उहाँको नेतृत्वले काम गर्दछ । र हाम्रो बलियो शक्तिलाई थप सुदृढ बनाउन नेतृत्व लाग्ने छ ।’
आफु सम्पूर्ण कार्यकर्ताको भावना अनुसारको काम गर्ने खतिवडा बताउँछन । ‘हाम्रो पार्टीमा गुट उपगुट भन्ने कुरै छैन । अधिवेशन सफल ढंगले सम्पन्न हुनुपर्ने थियो त्यो भएको छ । कसैले अलिक धेरै मत पायो कसैले कम मत पायो । त्यही मात्रै हो । हामी एकजुट भएर काम गछौं ।’ उनले प्रदेश खबरसँग भने ।
उनले आफ्नो पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा पनि भएकाले कुनै दुई पार्टी वीचको प्रतिस्पर्धा नभएको उल्लेख गरे । उनी भन्छन् ‘हामी सबैको एउटै काम भनेको पार्टी सुदृढ बनाउने हो ।’
ढकालले लेलान असन्तुष्ट नेतृत्व ?
प्रदेश अधिवेशनमा पराजीत ढकालले अब असन्तुष्ट पक्षको नेतृत्व गर्छन कि, मिलेर अगाडि बढ्छन भन्नेमा आम वृत्तमा चासो बढेको छ । ढकाल आफैले पनि कुल खसेको मध्ये करिब ४५ प्रतिशत मत प्राप्त गरेका छन् । ढकालले आगामी दिनमा कुनै गुट उपगुट नबनाई पाटीलाई सुदृढ बनाउँदै नराम्रा काममा खबरदारीको साथ जानुपर्नेमा कार्यकर्ताको जोड छ ।
नेकपा एमालेमा छुट्टै प्रभाव जमाएका नेता ढकाल भन्छन् ‘पार्टीका केही तत्वहरु आफूलाई हराउन लागे पनि मैले कार्यकर्ताहरुको मन जितेको छु । आएको मत परिणामलाई त स्वीकार गर्नुपर्ने हुन्छ । अर्कोतर्फ पार्टीका गलत कामका विरुद्धमा त म लागिरहेकै छु । चुनाव त एउटा प्रकृया हो नि ।’ढकालले आफु आम कार्यकर्ताको भावनाअनुसार अगाडि बढ्ने पनि बताए ।
Discussion about this post