इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको अम्बे-कोशी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताहरूले तालाबन्दी गरेका छन् । सहकारीले बचत फिर्ता नगरेपछि मङ्गलवार तालाबन्दी गरेको अम्बेमा एकमुष्ट रकम जम्मा राखेका शुक्रबहादुर तामाङले जानकारी दिए ।
पछिल्लो समय अम्बेले बचत फिर्ता नगरेपछि बचतकर्ताहरू सङ्घर्ष समिति नै बनाएर पुनः आन्दोलनमा गएका छन् । गत साउन २९ गते नै इटहरी उपमहानगरपालिकाको अगुवाइमा अनुगमन गर्दा बचत रकम फिर्ता गर्ने मौखिक प्रतिबद्धता भए पनि बचत रकम नपाएको पीडितहरूले बताएका हुन् ।
अनुगमनका क्रममा अम्बे बचत सहकारी नियम विपरीत सञ्चालनमा रहेको पाईको थियो । त्यस बेला ७ दिन भित्र सहकारीलाई आफ्नो प्रतिवेदन पेश गर्न निर्देशन गरिए पनि हालसम्म प्रतिवेदन पेस नगरेको इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले प्रदेश खबरलाई जानकारी दिए ।
नगरपालिकाले सहकारीलाई नियमविपरित चलेको र कारबाहीका गर्नलाई प्रदेश रजिस्ट्रारमा पठाइने ब्यहोराको प्रतिवेदन तयार पारेको छ । पोखरेल भन्छन्, ‘हामीले अझै अनुसन्धान भने गरिरहेका छौँ । तर पनि अहिलेसम्मको निष्कर्ष के हो भने, हामीले कारबाहीका लागि प्रदेशमा सिफारिस गर्ने हो । हामी केही दिनमै हाम्रो प्रतिवेदन पनि सार्वजनिक गर्छौं ।’
यता सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा पाँच हजार बढी सेवाग्राही मार्कामा परेका छन् । बचतकर्ताहरूको ३७ करोड बचत रकम फिर्ता गर्न बाँकी रहेको सङ्घर्ष समितिका अध्यक्ष समेत रहेका बचतकर्ता दुर्गाप्रसाद कोइरालाले बताए । उनले भने, ‘हामी अब आन्दोलन सँगै कानुनी प्रक्रियामा पनि जान्छौँ । हामीले न्याय पाउनु पर्यो बचत फिर्ता रकम हुनु पर्यो।’
संर्घष समितिले गत आइतबार जिल्ला सदरमुकाम इनरुवास्थित प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय घेराउ समेत गरेका थिए ।
Discussion about this post