झापा ।
नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको सभापतिमा ऋषि चापागाईँ निर्वाचित भएका छन् । झापा उद्योग संघमा सोमवार भएको निर्वाचनमा सभापतिकी उम्मेदवार लता चापागाईँ कार्कीलाई २५ मतान्तरले पछि पार्दै चापागाईँ तेस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।
३ सय १९ मतदाता रहेकोमा चापागाईँले १ सय २२ मत ल्याएका छन्, भने कार्कीले ९७ मत ल्याएकी छिन् । चापागाईँ यसअघि २०६६ फागुनदेखि २०७० भदौ र २०७६ चैतदेखि २०७९ माघसम्म गरी दुई कार्यकाल सभापतिको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यस्तै ८ वटा आरक्षित सिटमा रिता खतिवडा, चन्दन कुमार महतो, राधिका कटुवाल, तुलामाया वन गिरी, विक्रम क्षेत्री दाहाल, दिनलाल माझी, मुन्नीवत्ती कार्की , भक्त बहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेत र परियारको बराबरी मत आएपछि गोला गर्दा बस्नेत विजयी भएको तदर्थ समितिका संयोजक सुरेश श्रेष्ठले जानकारी दिए ।
त्यस्तै पाँच जना खुला सदस्यमा पवन श्रेष्ठ, गोपाल श्रेष्ठ, दीपक तिम्सिना, शान्तरत्न शाक्य र राजन पौडेल निर्वाचित भएका छन् । अपाङ्ग संघमा नेपाली काँग्रेसकै दुई प्यानल एक आपसमा भिडेका थिए । संघका पूर्व केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठ र अर्का पक्षको नेतृत्व मोहन महर्जनले गरेका थिए । श्रेष्ठ प्यानलबाटै सभापति निर्वाचित भए ।
Discussion about this post