इलाम । इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानिय गत असोज १६ देखि सिक्किममा बेपत्ता भएको जनाइएको छ ।
काम गर्न गएका उनीहरु असोज १७ गते टिस्टा नदीमा आएको बाढीले पछि बेपत्ता भएका हुन् । बाडीले बगाएको हुन सक्ने स्थानीयको भनाई छ । स्थानिय विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तसँग सम्पर्कविहीन भएका हुन् । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ ।
बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेन बहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत जना रहेका छन् ।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई जानकारीमा आएको भएपनि बस्नेत लगायत अन्यको विषयमा थाहा नभएको बताए ।
दुई जनाको विषयमा बेपत्ता भएको जानकारीमा आएको र अन्यको बिषयमा पछिल्लो समय मात्र जानकारी प्राप्त भएको उनले बताए । सिक्किमका मिडियामा खबर गरिसकेको पोखरेलले बताए ।
बाढीका कारण त्यस स्थानमा पुग्न नसक्ने, टेलिफोन, विद्युत् सबै अवरुद्ध भएको कारण कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ ।
Discussion about this post