धरान । मासु व्यवसायीहरुले बंगुरको मासुको मूल्य बढाउन नपाएको भन्दै धरानका मासु पसल बन्द गराएका छन् ।
व्यवसायीहरुले बंगुरको मासुमा प्रतिकिलो एक सय रुपैया बृद्धि गरी ५ सय रुपैया कायम गरेका थिए । व्यवसायीहरुले मासुको मूल्य बढाएपछि धरान उपमहानगरपालिकाले व्यवसायीहरुलाई बोलाएर प्रतिकिलो ४ सय ६० रुपैया कायम गर्न निर्देशन दिएको थियो । व्यवसायहीले उपमहानगरपालिकाले कायम गरिदिएको मूल्य मान्य नहुने भन्दै आज दिनभर धरानका मासु पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
धरान मासु व्यवसायी संघको नेतृत्वमा रहेको टोलीले धरान उपमहानगरमा रहेका सम्पूर्ण मासु तथा माछा पसलहरु बन्द गराएका थिए । व्यवसायीहरुले एकलौटी रुपमा ४ सयबाट बंगुरको मासुको मूल्य ५ सय पु¥याएका थिए । दशै नजिकिदै गर्दा मासुको मूल्यमा अत्याधिक वृद्धि भएपछि सोमबार नै धरान उपमहनगरपालिकाले उपमयेर अइन्द्रविक्रम वेघाले मासु व्यवसायीहरुलाई बोलाएर प्रतिकिलो ४ सय ६० रुपैया मूल्य तोकिदिएका थिए ।
तर व्यवसायीहरुले कमितमा ४ सय ८० रुपैया मूल्य कायम हुनुपर्ने भन्दै असहमती जनाएर मासु पसल बन्द गरेर आन्दोलित हुने घोषणा गरे । घोषणा अनुसार मंगलबार धरानका मासु पसलहरु बन्द भए । धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले बंगुरको अभाव र अन्य सहरमा मासुको मूल्य बढी भएका कारण मूल्य बढाउन बाध्य भएको बताए । उनले भने –‘अन्य सहरमा मासुको मूल्य बढी छ, हामीले मूल्य नबढाइ उनीहरुको तुलनामा किसानसँग बंगुर खरिद गर्न सक्दैनौ ।’
धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघाले ‘तीन महिना अघि मात्रै मासुको मूल्य ३ सय ६० बाट वृद्धि गरी ४ सय पु¥याएको’ बताए । उनले भने –‘तीन महिना अघि मात्रै ४० रुपैया मूल्य बढाएको फेरी ६० रुपैया बढाउदा पनि व्यवसायीहरुले चित्त बुझाउदैनन् भने अब मूल्य बढ्दैन ।’
Discussion about this post