विराटनगर/विराटनगरमा मंगलबार साँझ एम्बुलेन्सले ठक्कर दिँदा एक जना पैदलयात्री घाइते भएका छन् ।
एम्बुलेन्सको ठक्करबाट सडकमा पार्किङ गरेर राखिएका दुईवटा मोटरसाइकल र दुईवटा स्कुटर क्षतिग्रस्त भएका छन् । एम्बुलेन्समा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । चालकले मादक पदार्थ सेवन (मापसे) गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सडकमा अनियन्त्रित हिसाबले गुडिरहेको को १ च ४१५८ नम्बरको एम्बुलेन्सले साँझ ७ः४५ बजेतिर विराटनगर महानगरपालिका–७ स्थित कोसी अस्पतालअगाडि दुर्घटना गराएको हो । लायन्स क्लब विराटनगरको एम्बुलेन्सले ठक्कर दिँदा पैदलयात्री सुनसरीको रामधुनी–२ का २५ वर्षीय कान्छा ऋषिदेव घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । सामान्य अवस्थाका ऋषिदेवको कोसी अस्पतालमै उपचार भइरहेको छ ।
डीएसपी दाहालका अनुसार एम्बुलेन्सले ठक्कर दिँदा सडकमा पार्किङ गरेर राखिएका को ३३ प ५८१८ र प्रदेश–१–०२–०४४ प १०४१ नम्बरको मोटरसाइकल तथा को २७ प ४५५२ र को २५ प २३६८ नम्बरको स्कुटरमा पूर्णरूपमा क्षति पुगेको छ । मोटरसाइकल र स्कुटर क्षतिग्रस्त बनेको उनले बताए ।
एम्बुलेन्स चालक मोरङको रतुवामाई नगरपालिका–५ का २९ वर्षीय सफुल मुर्मुलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालक मुर्मुले मापसे गरेर चलाएका कारण अनियन्त्रित बनेको एम्बुलेन्सले दुर्घटना गराएको प्रहरीले जनाएको छ । पैदलयात्री र मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिएपछि थप अनियन्त्रित बनेको एम्बुलेन्स सडक किनारमा पल्टिएको थियो ।
Discussion about this post