झापा । कोसी नाम खारेजीको मागसहित आन्दोलनमा उत्रिएको प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै बन्दको घोषणा गरेको छ ।
सङ्घर्ष समितिले मङ्सिर ३० र पुस १ गते फेदेन, हिल्लिहाङ, थर्पुदेखि चिवाभन्ञ्याङसम्म, मेची राजमार्ग (झापा चारालीदेखि ताप्लेजुङसम्म), तमोर कोरिडोर मूलघाटदेखि फेदेनसम्म अनिश्चितकालीन सडक बन्दको घोषणा गरिएको जनाएको छ ।
पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरे प्रदेशव्यापी आम हडताल गर्न बाध्य हुने समितिले चेतावनी दिएको छ ।
कोसी नामका पक्षमा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसदहरू र पहिचान विरोधी भन्दै केपी ओली, योगेश भट्टराई र महेश बस्नेतविरुद्ध कालोझण्डा प्रदर्शन लगायतको कार्यक्रम जारी रहेको समितिले विज्ञप्तिमार्फत जनाएको छ ।
कालोझण्डा प्रदर्शनको क्रममा खोटाङबाट मङ्सिर २६ गते पूर्व संस्कृति मन्त्री गोपाल किराँती, जसपा नेता राजेश राई, गन्धमान राई, विजय राई, उदिम राई पक्राउ परेका छन् ।
त्यस्तै भोजपुरबाट मङ्सिर २६ गते बिदुर राई (किराया भोजपुर जिल्ला अध्यक्ष), मिना राई (जसपा प्रदेश सदस्य), दिनेश राई (जसपा जी.सदस्य/युवा इन्चार्ज), पनन राई पक्राउ परेका छन् ।
त्यस्तै उदयपुरको घुर्मीबाट सोही दिन निशान राई, विजय थापा, शंखर खत्री पक्राउ परेका छन् । यता झापाको बिर्तामोडबाट २६ गते नै संयुक्त सङ्घर्ष समिति झापा जिल्ला संयोजक पाण्डव चौधरी पक्राउ परेका थिए ।
उता लेगुवा घाटबाट मङ्सिर २७ गते उद्धवमणि राई (किराया धनकुटा अध्यक्ष), कमल तिगेला ( कियाचु धनकुटा अध्यक्ष), वीरेन्द्र खारा राई ( सङ्खुवासभा संयुक्त सङ्घर्ष समिति अध्यक्ष), उमा चाम्लिङ राई (किराया सङ्खुवासभा सचिव), जीतेन्द्र माङ्पाङ राई (किराया पख्रिबास अध्यक्ष) पक्राउ परेका छन् ।
त्यसै गरी भोजपुरबाट मङ्सिर २८ गते केपी ओलीलाई सदरमुकाममा कालो झन्डा प्रदेश गर्ने क्रममा मञ्जु राई (जसपा जिल्ला उपाध्यक्ष), दिनेश राई (किरात फोर्स भोजपुर संयोजक), मणि राई (जिल्ला सदस्य), धिरज राई (जिल्ला सदस्य), धिरेन खिम्बूले राई (समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष), तायाबुङ राई ( समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिव) पक्राउ परेका छन् ।
धनकुटा सिदुवाबाट सोही दिन सङ्करमान खेवा, सूर्य मादेन, नगेन सावा, बोधराज लिम्बू, उदय लिम्बू सावा, फौद तुम्खेवा, दीपक लिम्बू, रुपेश लिम्बू, योगेन्द्र सावा लिम्बू पक्राउ परेको सङ्घर्ष समितिले जनाएको छ ।
पूर्व मन्त्री गोपाल किराँती लगायत पक्राउ परेका सबै रिहाइ नभइन्जेलसम्म अनिश्चितकालीन बन्द यथावत् रहने बताइएको छ ।
Discussion about this post