धनकुटा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको छ ।
बैतडीको चिवा घाटबाट पाँचथरसम्मको सङ्कल्प यात्राका क्रममा मध्य पहाडी लोकमार्गबाट भोजपुर हुँदै धनकुटा आइपुगेका अध्यक्ष ओलीमाथि हातपात भएको हो। भोजपुरबाट धनकुटा जाने क्रममा उनीमाथि मुक्का प्रहार गर्दै हातपात भएको हो।
धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि स्थानीय महेश राईले मुक्का प्रहार गरेका थिए ।
ओलीको स्वागतमा लाइनमा बसेकाहरूको बिचबाट आएका राईले ओलीनजिकै पुगेर मुक्का प्रहारको प्रयास गरेको सामाजिक सञ्जालमा आएको भिडियोमा देख्न सकिन्छ। एक मुक्का प्रहारको प्रयास लगत्तै राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाले नियन्त्रणमा लिएका छन्।
यसैबिच धनकुटाबाट प्रहरीले पहिचानवादी आन्दोलनका १८ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा प्रदेश पहिचान संयुक्त सङ्घर्ष समिति सङ्खुवासभाका संयोजक वीरेन्द्र राई सहित कार्यकर्ताहरू रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा किरात राई यायोक्खाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याकथुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसिंह तिगेलालगायत उमा चामलिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, गोकुल राई, पुनित कुलुङलगायत १८ जना रहेका छन् ।
Discussion about this post