धरान/ धरानमा लिम्बु समुदायको मुख्य पर्व चासोक तङ्नाम भव्य र विविध कार्यक्रमको साथ मंगलबारबाट सुरु हुने भएको छ ।
सोमबार धरान १५ स्थित किराँत याकथुम चुम्लुङ हिममा आज पत्रकार सम्मेलन गरी किराँत याकथुम चुम्लुङ धरान नगरको अध्यक्ष तीर्थ मादेम्बाले किराँत याकथुङ चुम्लुङ हिम भवनमा ५ दिने सांस्कृतिक कार्यक्रम सहित महोत्सव हुने जानकारी दिएको हो ।
अन्न पाकेपछि सबैभन्दा पहिले युमा माङलाई चढाएर मात्रै मान्छेले खान हुने आदिवासी लिम्बु याक्थुङवाहरुको मुन्धुममा समेत वर्णित भए अनुसार सृष्टीकालदेखि चासोत अर्थात् चासोक मनाउन प्रारम्भ भएको उनले बताए ।
अन्न पाकेपछि चासोक घर-घरमा मनाइने प्रचलन परापूर्व कालदेखि चलेकोमा कियाचुको निर्णय पछि चासोकलाई सामूहिक रूपमा मनाउने प्रचलन पनि धरानबाट नै ०५०/०५१ साल देखि सुरु भएको अध्यक्ष मादेम्बाले बताए ।
यो सालको चासोक तङनामलाई कोसी प्रदेश नामाङ्कनको विरोधको रूपमा पनि लिएका किराँत याकथुम चुम्लुङको महासचिव निरन्तर तुम्बापेले बताइन । चासोकलाई हरेक वर्ष हामीले हर्षोल्लास साथ चासोक मनाउँदै आएपनी यस वर्ष भने मन र मुटुभरि कोसी प्रदेश नामाङ्कनको खारेज गर्दै पुनः नामाङ्कन हुनुपर्ने आन्दोलनको रूपमा लिदैं चासोक मनाउने उनले बताइन ।
सामूहिक रूपमा चासोक मनाउने प्रचलन नेपालको लिम्बुवानहरूमा मात्रै नभई विदेशको भूमिमा पनि सुरु भएको दशकौँ भइसकेको जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङले बताए ।
लिम्बुहरू जहाँ–जहाँ पुगेका छन् त्यहाँ पनि चासोक, च्याब्रुङ, यालाङ धान नाच सहित पहिरण तथा गहनाहरू सहित पुगेको बताए ।
धरानमा हुने यो चासोक तङ्नाम पाँच दिन हुनेछ । पहिलो दिन सम्पूर्ण लिम्बुवानवासीको एकराते चमेन तङसिङ वैभव सुस्वास्थ्य र सद्भाव लागि अनुष्ठान आयोजना हुने आयोजकले जनाएको छ ।
दोस्रो दिनको बिहान चासोक पूजा, विजयपुर स्थित हाड्युक्ना पूजा, तीनकुने स्थित सिरीजंगा चौकमा रहेको त्येअङसी सिरीजंगाको सालिकमा माल्यार्पण र उद्घाटन हुने, तेस्रो दिन केलाङ, यालाङ, पालम आयोजना हुने, चौथो दिन याकथुङजन्य खेलहरू लिई आत्मा, गुलेली हान्नु,पक्लुम लेप्मा छेलो हान्नु, थाक्थाक्मा तान बुन्नु लगायत हाक्पारे सामलो र परम्परागत पक्षहरूको प्रदर्शन हुनेछ भने पाँचौँ दिन आदिवासी सङ्घ संस्थाहरूको सांस्कृतिक प्रदर्शनी र समापन हुन आयोजकले जनाएको छ ।
Discussion about this post