युवराज गौतम
तमु ल्होसारको दिन सबेरै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की शुभकामना सन्देश समावेश भएको सार्वजनिक वक्तव्यमा ‘कोशी’नाम छुटेपछि सामाजिक सञ्जाल अबेरसम्म तात्यो ।
सामान्य प्राविधिक त्रुटिलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कार्कीको हुर्मत लिए । विशेषगरी वक्तव्यमा उल्लेखित शुभकामना सन्देशमा कोशी शब्द छुटेपछि प्रतिपक्षी दलका नेता कार्यकर्ताले उनको विरोध जनाए तर आन्दोलनरत पहिचानवादीले खुसी व्यक्त गरे ।
प्रदेशसभाका दुई तिहाइ विधायकले पास गरेको कोशी शब्दमा चिप्लिलदा कार्कीको यति धेरै आलोचित बने भने जनमतलाई थोरै मात्र अपमान गरे भने राजनीतिक भविष्यमा दाउमा जानेछ भनेर बुझ्न सकिन्छ ।
पूर्वी नेपालको सबैभन्दा ठुलो सहर विराटनगर नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य बिन्दु भएको सबैलाई जगजायर छ । त्यतिमात्र होइन नेपाली लोकतान्त्रिक राजनीतिको शक्तिकेन्द्र पनि हो विराटनगर ।
‘कोइराला निवास’ लोकतन्त्रको पवित्र स्थल हो । तीन जना प्रधानमन्त्री–मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्माएको निवासको हार्दिकता र सद्भाव पाएका केदारमाथि ठुलो अपेक्षा छ ।
प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिनेहरूसँग लड्नु पनि छ । साथै संविधान कार्यान्वयनको जिम्मेवारी उनीमाथि छ । प्रदेशको भूमिका र जिम्मेवारी बुझाउनुपर्ने अर्को ठुलो दायित्व छ ।
लामो समय अस्थिर अवस्थामा रहेको कोसीमा संविधानको धारा १६८ ९५० अनुसार असोज २७ गते ४७ जना सांसदहरूको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीको कुर्सीमा रहेका केदारलाई शब्दमा अल्झिने, शब्दमै चिप्लिने र शब्दमै खेलेर पूर्वका १४ जिल्लावासीलाई धोका दिने छुट छैन ।
त्यतिमात्र होइन नेपाली काँग्रेसको भावी सभापति र मुलुकको प्रधानमन्त्रीको शयर नजिक रहेका डा।शेखर कोइरालाको भविष्यमा खेल्ने छुट पनि छैन । विषय संवेदनशील छ ।
मुख्यमन्त्री सचिवालयका सहयोगीहरू शब्दमै चिप्लनुलाई सामान्य मान्न सकिँदैन । डिजिटल दुनियाँ र सूचनाको तीव्र प्रवाह रहेको आजको युगमा सचिवालय बढी जिम्मेवारी र संवेदनशील बन्नु जरुरी छ ।
राजनीतिक भविष्यलाई दाउमा राख्दै एउटा जटिल परिस्थितिबाट मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका केदारलाई आफ्नै राजनीति जोगाउन आफ्नै सचिवालयलाई मजवुद बनाउँदै जनताको भरोसा जित्नुपर्नेछ ।
प्रतिपक्षी दल नेकपा एमालेको समर्थन जुटाएर कोसीको सरकार जोगाउने हिम्मत गरेका केदार काँग्रेसीहरूकै पनि निसानामा छन् । एक समूह उनीमाथि आक्रामक छ । गल्ती भेट्दा ताली पड्काउन तयार भएर बसेको छ ।
यस्तो बेला केदारले निर्वाह गर्ने भूमिकाको ठुलो महत्त्व हुन्छ । बैगुनीलाई गुनले जित्नुपर्छ भन्ने मान्यतालाई सर्वोपरि ठान्नुपर्ने आवश्यकता छ ।
आफूलाई विश्वासको मत दिनेलाई विश्वास दिलाउन नसक्दा सरकारबाट एमालेको साथ गुमाएका केदारले अहमता र चरम महत्वकांक्षालाई कोसीमा बगाउनुपर्ने पनि छ ।
किनकि उनको व्यक्तिगत नेचर परिस्थितिसँग जुध्न सक्ने नेताका रूपमा स्थापित भइसकेकाले अहमता र घमन्ड कोसीमा बगाउँदा उत्तम हुन्छ ।
यति बेला उनको जिम्मेवारी भनेको सरकारलाई पूर्णता दिने र स्थायी सरकारको नेतृत्व जारी राख्ने हो । एमालेलाई अपजस दिँदै मन्त्रिपरिषद् विस्तार गर्नबाट भाग्न र एक्लै हिँड्न सक्दैनन् ।
यति बेला उनले देखाउने भनेको कार्य क्षमता र कुशलता हो । जिम्मेवारी सम्हालेको तीन महिना पुगिसक्दा पनि सभामुख चयन, संसदीय समिति चयन गर्न नसक्नु र सरकारलाई पूर्णता दिन नसक्नुलाई केदारको राजनीतिक क्षमतासँग जोडिएको विषय हो ।
यति बेला कोसीमा बहुमत र अल्पमतको बहस भइरहेकाले सामान्य कारणले सरकार विस्तारको प्रक्रियालाई ढिलाइ गर्नु त्यति जायज मान्नु हुँदैन ।
गठबन्धनमा रहेका दललाई साथमा लिएर विपक्षीको आवाजलाई सम्बोधन गर्दै मुख्यमन्त्री साझा रूपमा अघि बढ्नुपर्छ । तत्कालीन अवस्थामा मध्यावधि निर्वाचनको ठुलो दुर्घटनालाई रोक्न जटिल परिस्थितिको सामना गरेका केदारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन सम्बद्ध दलको हो ।
त्यसैले गत साउन १६ गतेदेखि सभामुखविहीन भएको प्रदेश सभालाई नियमित गराउन एमालेलाई सभामुख दिएर भए पनि संसद् खुलाउनतर्फ लाग्नुपर्छ ।
Discussion about this post