विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार सार्वजनिक गरेको सम्पत्ति विवरणमा शङ्का गर्ने प्रशस्त आधारहरू फेला परेका छन् ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा पत्यारलाग्दो स्रोत कहिँकतै खुलाइएको छैन । उनले सबै सम्पत्तिको हकदार श्रीमती शान्तादेवी बस्नेतलाई बनाएका छन् ।
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि बुधवार कार्कीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा कतै जग्गाको कित्ता नम्बर उल्लेख छैन भने आम्दानीको स्रोत पनि स्पष्ट देखिँदैन ।
मोरङको बूढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीको विराटनगर महानगरपालिका र बूढीगंगाका ठाउँ ठाउँमा जग्गा जमिनरहेको पाइएको छ ।
कार्की पत्नी शान्ता देवीको नाममा बूढीगंगामा १ कट्ठा साढे १२ धुर जग्गा र त्यही जग्गामा बनेको घर छ । उनले सो घरजग्गा पैतृक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गरेका छन् । तर,परिवारका कुन सदस्यले कहाँ जागिर खाए र कति आर्जन गरे त ? प्रश्न गर्ने ठाउँ प्रशस्त भेटिन्छ ।
त्यो बाहेक बूढीगंगामा मात्रै ४ कट्ठाजग्गा छ । बूढीगंगा–२ ‘क’मा पौने ९ धुर, बूढीगंगा–२ ‘क’मै सवा ११ धुर र बूढीगंगा–८ ‘ख’मा ३ कट्ठाजग्गा रहेको सम्पत्ति विवरणमा खुलाइएको छ । मुख्यमन्त्री कार्कीले बूढीगंगाको जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट जोडेको उल्लेख गरेका छन् ।
उनले बुढीगंगाको पौने ९ धुर र सवा ११ धुर जग्गाको ३÷३ लाख तथा ३ कट्ठाको १२ लाख रुपैयाँ भनेर खरिद मूल्य खुलाएका छन् ।
उनकी पत्नीको नाममा विराटनगर भित्र मात्रै विभिन्न ४ ठाउँमा गरेर १ बिघा ६ कट्ठा सवा १० धुर जग्गा छ । सबै जग्गा विराटनगर–७ मा पर्छ ।
विराटनगर भित्र कित्ता नम्बर ४० को २ सय ५० बर्गमिटर, कित्ता नम्बर ३० को ८ सय ८६ दशमलव २५ र कित्ता नम्बर २४ को ४ सय २६ दशमलव २५ बर्गमिटर तथा कित्ता नम्बर उल्लेख नगरिएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा छ ।
विराटनगरको सबै जग्गा विभिन्न ठाउँको जमिन बिक्रीबाट खरिद गरेको कार्कीले खुलाएका छन् । तर, कहाँको कति जमिन विक्री गरे, त्यो भने खुलेको छैन ।
उनले कित्ता नम्बर ४० को २ लाख ५० हजार, ३० को १० लाख ६२ हजार ५ सय र कित्ता नम्बर २४ को ४ लाख २६ हजार २ सय ५० रूपैयाँ खरिद मूल्य रहेको खुलाएका छन् ।
त्यस्तै, कित्ता नखुलाइएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा १ करोड २१ लाख ६१ हजार ८ सय ७५ रुपैयाँमा खरिद गरिएको कार्कीको सम्पत्ति विवरणमा उल्लेख छ । सबै जग्गाको खरिद मूल्य जोड्दा १ करोड ५६ लाख ९९ हजार बराबर हुन्छ ।
कार्कीको परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी रहेको उल्लेख छ । मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैङ्कमा लगभग ८ लाख नगद रहेको देखिन्छ ।
उनको नाममा कृषि विकास बैङ्कमा २० हजार ८३ रुपैयाँ ९० पैसा, उनकी श्रीमती शान्तादेवीको नाममा कृषि विकास बैङ्कमा ८२ हजार ५ सय ७८ रुपैयाँ ४४ पैसा र एभरेस्ट बैङ्कमा ३ हजार ६ सय ६० तथा छोराहरू साकेत बाबुको नाममा कृषि विकास बैङ्कमा ३ लाख ४८ हजार ५ सय ८४ र शाब्दिक बाबुको नाममा ३ लाख ३९ हजार ८ सय ३६ रुपैयाँ ६९ पैसा रहेको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सबै नगद तलब, भत्ता, बचत र ब्याजबाट प्राप्त भएको खुलाइएको छ ।
मुख्यमन्त्री कार्की, उनकी श्रीमती र छोराहरूको नाममा विभिन्न ५२ वटा बैङ्क तथा वित्तीय संस्था तथा कम्पनीको शेयर पनि खरिद गरेको देखाइएको छ । कार्कीले १ करोड ८ लाख २ हजार ऋणमध्ये ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् ।
सवारी साधनमा भने श्रीमती शान्तादेवीको नाममा रहेको ३ लाख १८ हजारको एक थान स्कुटर मात्रै खुलाइएको छ ।
सरकारका प्रवक्ताको बैङ्क मौज्दात ६२ हजार मात्र
कार्कीसँगै मन्त्रीहरू शम्शेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले इलामको रोङ गाउँपालिका–४ र ६ को ५ ठाउँमा जग्गा रहेको खुलाएका छन् ।
१० तोला सुन र बैङ्क मौज्दात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पूँजी रहेको राईले उल्लेख गरेका छन् ।
रोङ गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेका उनको नाममा इलाममा यावा अलैंची खेती तथा नर्सरी र यावा बाख्रा फर्म पनि सञ्चालनमा छ ।
जवेगूको सम्पत्ति : हलगोरु, दुहुना गाई र खसी
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूले पाँचथरको फालेलुङ–१, र २ का साथै झापाको मेचीनगर नगरपालिका–५ मा ६ कित्ता जग्गा रहेको खुलाएका छन् ।
उनले ११ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् ।
उनको १ लाख रुपैयाँ बैङ्क मौज्दात छ भने अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर छ ।
जवेगूले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको र आफ्नो साथमा १ वटा दुहुना गाई, १ हलगोरु र १ वटा खसी रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
उप्रेतीको स्रोत : सामूहिक कृषि फार्म
वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीले श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्ठा ५ धुर र सुनसरीको इटहरीमा ११ धुर जग्गा रहेको उल्लेख गरेका छन् ।
उनको परिवारसँग १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैङ्कमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख छ ।
उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४ सय ५० कित्ता शेयर रहेको सम्पत्ति विवरणमा खुलाइएको छ ।
उनले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् । उनको एउटा होण्डा मोटरसाइकल र सुजकी ब्रान्डको स्कुटर रहेको विवरणमा उल्लेख गरेका छन् ।
उनले सामूहिक रूपमा कृषि तथा गाई फार्म सञ्चालन गरिरहेको पनि खुलाएका छन् ।
Discussion about this post