इलाम माघ : इलाम नगरपालिकाले नगर भित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न सुरु गरेको छ । गरिब र विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गर्न थालिएको हो ।
बिहीबार इलाम नगपालिका दुई र चारका विभिन्न विद्यालयमा कपडा वितरण गरिएको छ । पहिलो चरणमा सुम्बेक मावि र सिंहदेवी आविमा अध्ययनरत छात्रछात्रालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले विभिन्न १४ वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिने बताए ।
इलाम नगरपालिकालाई समृद्ध बनाउन शिक्षा सम्बन्धी विभिन्न कार्यक्रम ल्याएको बताउँदै उनले उच्च शिक्षामा विभिन्न विद्यालयमा १३ जनालाई पूर्ण छात्रवृत्ति वितरण गरिएको बताए ।
बिहीबार नै इलाम नगरपालिका चारका सूर्योदय आवि घलेटार, सिद्धेस्वरी आवि सिद्धेस्वर, देवकोटा आवि भित्ते र रुक्मिणी आवि मलातेमा कपडा वितरण गरिने जनाइएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखी कक्षा पाँच सम्ममा विद्यार्थीलाई कपडा वितरण गरिने छ । जाडोको समयमा विद्यालय जान नै नसक्ने अवस्था नआओस् भनेर यो कार्यक्रम तय गरिएको इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए ।
इलाम नगरपालिका १० का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक ओमनाथ प्रदानले नगरपालिकाले उल्लेख्य रूपमा सामाजिक विकासका कार्यक्रमहरू ल्याएको बताए । सोही कार्यक्रम अनुसार बालकालकालाई कपडा वितरण गरिएको जनाइएको छ ।
शिक्षा प्रतिको चासो भएकै कारण न्यानो कपडा गरिएको दुई नम्बर वडाका वडाध्यक्ष गिरिराज रिजालले बताए । उनले समाजलाई समृद्ध बनाउन सुरु देखी नै बालबालिकालाई विद्यालय सम्म पुग्ने वातावरण तय गर्नुपर्ने भएकाले पनि यो कार्यक्रम गरिएको बताए ।
सुम्बेक माविमा भएको कार्यक्रममा वडाध्यक्ष रिजालको अध्यक्षता तथा नगर प्रमुख थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा इलाम नगरपालिका चारका वडाध्यक्ष तथा नगर प्रवक्ता नुतनदेव दुलाल, कार्यपालिका सदस्य, वडा सदस्य लगायत अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post