सभामुखको निर्वाचन बिहीबार हुने भएको छ । मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित गर्ने तयारी गरिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।
प्रवक्ता गिरीले संघीय संसद सचिवालयले सभामुखको निर्वाचनर्को तयारी पूरा गरेको बताए । तालिका अनुसार बुधबार सभामुखका लागि मनोनयन दर्ता हुनेछ ।
‘प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्नेछ’ प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ ।
बुधबार नै संसद सचिवालयले सभामुखका उम्मेदवारहरुको सूची टाँस गर्नेछ । सभामुखका लागि एक जनाको मात्रै मनोनयन परे बिहीबार प्रतिनिधिसभाको बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले १० माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ । ५ माघमा सभामुख चयन भएपछि उपसभामुख भने ७ माघमा चयन गर्ने तयारी छ ।
Discussion about this post