झापा । बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक सय ८ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ ।
संस्थाको १३ औँ वार्षिकोत्सवका अवसरमा बिर्तामोड ९ स्थित शहीदलक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको हो ।
विपन्न वर्ग र अधिकांश आदिवासी समुदायका विद्यार्थी अध्ययनरत त्यस विद्यालयमा पुगेर संस्थाका अध्यक्ष सुवास भट्टराई , कार्यकारी प्रमुख कमलबहादुर बस्नेत , सचिव इन्द्रबहादुर कार्कीलगायतले सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
यस वर्षको पाँचौँ सामाजिक कार्यक्रमको रूपमा विद्यार्थीहरूलाई ब्याग वितरण गरिएको कार्यकारी प्रमुख बस्नेतले बताए । उनका अनुसार यसअघि कचनकवल ४ बनियानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै बारदसी १ भागडुब्बा , बिर्तामोड ६ र ७ का ज्येष्ठ नागरिकलाई ब्लांकेट वितरण गरिएको थियो ।
कार्यकारी प्रमुख बस्नेतले १० हजार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।
सिम्रिक सहकारीले बचत र ऋणको कारोबार सङ्गै शिक्षा , स्वास्थ्य र कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको अध्यक्ष भट्टराईले बताए । उनले समुदाय र शेयर सदस्यको हितमा संस्थाले काम गर्दै आएको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बिर्तामोड ९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाईको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अगुवा विष्णुमाया अधिकारी कोइरालाले पनि बोलेकी थिइन् ।
वडा सदस्य केशव बुढाथोकी,विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद घिमिरेलगायत विद्यालय व्यवस्थापन समितिका सदस्य , अभिभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सिम्रिकका विभागीय प्रमुख विजय बस्नेतले गरेका थिए ।
Discussion about this post