इलाम / छिमेकी मुलुक भारतको दार्जिलिङ स्थित मानेभञ्ज्याङ एफसीले ‘प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता’को उपाधि जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा इलाम रोङ स्थित दीपेन्द्र शिखर एफसीलाई ३–० गोलान्तरले हराउँदै मानेभञ्ज्याङले उपाधि हात पारेको हो ।
जितका लागि मानेभञ्ज्याङका लागि सिम्रन गुरुङले व्यक्तिगत २ र सुस्मिता लेप्चाले १ गोल गरिन् । दीपेन्द्रशिखरले जबाफी गोल गर्न सकेन ।
विजेता बनेसँगै मानेभञ्ज्याङले दुई लाख नगद सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लब ओएसिसका अध्यक्ष च्याङ मुखियाले जानकारी दिए । उपविजेता दीपेन्द्र शिखरले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
विजेता तथा उपविजेता टिमलाई इलाम नगरपालिकाका मेयर केदार थापाले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा मानेभञ्ज्याङका पाँच खेलाडीले उत्कृष्ट चार विधाका पुरस्कार प्राप्त गरे । वेस्ट गोलरक्षक ग्युमरी तामाङ, वेस्ट फरवर्ड सिम्रन गुरुङ, वेस्ट डिफेन्डर निमिता गुरुङ र वेस्ट प्लेयर सोनिका मरक घोषित भए ।
हाई स्कोररको पुरस्कार मानेभञ्ज्याङकी सिम्रन गुरुङ र बिर्तामोड युनाइटेडकी समीक्षा मगरले पाए । उनीहरूले सर्वाधिक तीन–तीन गोल गरेका थिए ।
वेस्ट मिडफिल्डर सप्तरीको नमो बुद्ध यूथ क्लबकी प्रतीक्षा राई तथा राइजिङ प्लेयर आयोजक ओएसिस फुटबल क्लबकी आयशा राईले पाएको आयोजक क्लब ओएसिसका खेल संयोजक ध्रुव राईले जानकारी दिए ।
विधागतमा उत्कृष्ट खेलाडीले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गरेको आयोजक समितिका कोषाध्यक्ष रोशन राईले बताए । गत फागुन ३ मा सुरु प्रतियोगितामा नेपालका छ र भारतका दुई टिम सहभागी थिए ।
आगामी वर्ष देखी यसका अन्य संस्करण प्रजातन्त्र दिवस अर्थात् फागुन सात गर्ने गरी आयोजक लागि परेको आयोजक समितिका प्रकाश तामाङले जानकारी दिए ।
महिला गोल्ड कपलाई समेत समान हैसियतले अगाडी बढाउने आयोजकको लक्ष रहेको बताइएको छ ।
Discussion about this post