विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम लोकमार्गमा टिपर, बस र बोलेरो जीप ठोक्किएर बिहान ६ः३० बजेतिर ठूलो दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोलेरोमा ५ जना सवार थिए । मृतक र घाइते बोलेरोमा सवार थिए ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको थियो ।
बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले बसको पछिपछि लागेर पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिएको हो ।
भयानक दुर्घटनामा परेर बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको छ । दुवै जनालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । साथमा बोकेको मतदाता परिचयपत्रका आधारमा भट्टराईको पहिचान खुलेको हो । मृतक महिलाको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा परेर बोलेरोेमै सवार ३ जना घाइते भएकोमा उपचारका क्रममा थप एकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार घाइते भएका झापाको कमल गाउँपालिका–२ ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुषको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
पहिचान नखुलेका पुरुष बोलेरो चालक हुनसक्ने अनुमान गरिएको छ । घाइतेमध्ये ती पुरुष र हरि खनालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । गायत्रीको अवस्था सामान्य छ ।
घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएको थियो । घाइतेमध्ये २ जनाको मृत्यु भइसकेको हो । उपचाररत २ जना मध्ये अझै एकको अवस्था चिन्ताजनक छ ।
दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त बनेको छ भने टिपरको अगाडिको भागमा पूर्णरूपले क्षति पुगेको जानकारी प्रहरीले दिएको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति पुगेको छ ।
बसमा सवार सबै जना र टिपर चालक सकुशल रहेको प्रहरीको भनाइ छ । दुर्घटनास्थलमै रहेका सवारीसाधनलाई प्रहरीले जेसीबीको सहायता लिएर सडकबाट हटाउने प्रयास गरिरहेको छ ।
प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैँचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई दुर्घटनालगत्तै नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको हो ।
Discussion about this post