विराटनगर-मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
सशस्त्रका डिएसपी उपेन्द्र बस्याल केही बेरअघि मृत फेला परेका हुन् । नेपाल प्रहरीका अनुसार बस्याल धनपालथान गाउँपालिका-३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख थिए ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले झुन्डिएको अवस्थामा डिएसपीको शव भेटिएको जानकारी आएको बताए । उनका अनुसार कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डिएसपी बस्यालको शव फेला परेको खबर छ ।
घटनाका सम्बन्धमा थप जानकारी प्राप्त हुन बाँकी रहेको जानकारी तिम्सिनाले दिए । बस्यालले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि यसको पुष्टि भइसकेको छैन । एसपी तिम्सिनाले अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने बताए ।
अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । घटनास्थललाई सुरक्षित राखेर प्रहरीले अनुसन्धान थालेको छ सशस्त्र प्रहरीका केही अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन् ।
Discussion about this post