वीरगञ्ज / बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाएर नगद लुटपाट गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारणका २७ वर्षीय अखिलेश कुमार साह रहेका छन्।
बारा आदर्श कोतवाल गाउँपालिका–८ बस्ने उपेन्द्र मुखिया नारायणघाटबाट वीरगञ्जतर्फ बस चढेर आइरहेको अवस्थामा साहले मिठाइ र बिस्कुट खुवाएर बेहोस बनाएर लुटपाट गरेका थिए। मुखियाको साथबाट ४१ हजार ५ सय रुपैयाँ र एउटा मोबाइल लुटिएको थियो।
साहलाई वीरगञ्ज महानगरपालिका–१६ भानुचोकबाट पक्राउ गरिएको र साथबाट ३७ हजार ४१० र मोबाइल पनि बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।
पक्राउ परेका साहलाई चोरीसम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको थापाले बताए।
Discussion about this post