झापा । झापा गोल्डकपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ एफसी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुँदैछ । छैटौं झापा गोल्डकपको फाइनल खेलमा उनीहरु उपाधिका लागि अन्तिम प्रतिष्पर्धा गर्न लागेका हुन् ।
झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेडले सशस्त्र प्रहरीको एपीएफसँग प्रतिष्पर्धा गर्न लागेको हो । यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलोपटक हो ।
शहीद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलोपटक सहभागी भएर प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । बिभागीय टोली एपीएफले झापा गोल्ड कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा ए डिभिजनको संकटा युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा एपीएफले स्थान सुरक्षित गरेको थियो ।
क्वाटरफाइनलमा पनि एपीएपले टाइब्रेकरको सहारा लिनु परेको थियो । सर्लाहीको बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमीफाइनल प्रवेश गरेको थियो ।
उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमीफाइनलमा हराउँदै एपीएफ पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । एपीएफले आर्मीसँगको खेलमा पहिलोपटक ९० मिनेटभित्र नतिजा निकाल्न सफल भएको थियो ।
कर्नरबाट प्राप्त बललाई एपीएफका बिदेशी स्ट्राइकर फोडे फोफोनले हेडमार्फत बललाई जाली चुमाएका थिए । आर्मीका डिफेण्डर कमल थापालाई टच हुँदै भएको सो गोलले एपीएफलाई फाइनलमा पु¥याएको थियो । यो गोल फोडे फोफोनाको नाममा छैन ।
प्रतियोगितामा पहिलोपटक सहभागी भएको चर्च ब्वाइजको यात्रा भने प्रतियोगितामा उत्साहजनक रह्यो । चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखायो ।
६ वटै प्रतियोगितामा सहभागी भएको नेपाल पुलिस यो संस्करणसम्म आइपुग्दा पहिलो खेलबाटै घर फर्किने टोली बनेको छ । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब एनआरटीमाथी १–० को नतिजा निकाल्यो ।
सेमीफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान पक्का गरेको छ । चर्च ब्वाइज युनाइटेड र एपीएफ एफसीले सोमबार उपाधिका लागि प्रतिष्पर्धा गर्ने तय भएको छ ।
समान तीन खेल खेलेका चर्च ब्वाइज र एपीएफ क्लबबीचको खेल हेर्दा उपाधिका लागि चर्च ब्वाइजलाई दाबेदार मान्न सकिन्छ । चर्च ब्वाइजका विदेशी स्ट्राइकर अबयोमी फकुन्ले, बिजय भुजेल र एट्याकिङ मिडफिल्ड खेल्दै आएका सुरज जिउ ठकुरी एपीएफका लागि खतरा बन्ने देखिन्छन् ।
चर्च ब्वाइजका स्ट्राइकर सञ्जित राई र एकराज बुढाथोकीको तालमेल एपीएफको स्कोरिङमा मुख्य रुपमा बाधक बन्न सक्छन् । गोलरक्षक दीप कार्की चर्च ब्वाइजको लागि अर्का भरपर्दा खेलाडी हुन् । झापा ११ सँग भएको टाइब्रेकरमा बाहेक चर्च ब्वाइजले हालसम्म आफ्नो पोष्टमा कुनै गोल खाएको छैन ।
एपीएफ एफसीले भने उद्घाटन र क्वाटरफाइनल खेलमा टाइब्रेकरको सहारा लिनुपरेको थियो । दुई पटक टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सेमीफाइनल खेलेको एपीएफले फाइनलमा आर्मीलाई मुस्किलले हराउन सकेको थियो ।
आर्मीले दिएको उपहार गोलको मद्दतले एपीएफ फाइनलमा पुगेको हो । एपीएफका छरिता स्ट्राइकर प्रदीप लामा, बुद्धिमान राई र फोडे फोफोनाको खेलमा तालमेल मिलेको अवस्थामा नतिजा आफ्नो पक्षमा पार्ने देखिन्छ ।
कप्तान मानबहादुर राना र बिदेशी खेलाडी सर्ज डिका चर्च ब्वाइजको स्कोरिङमा बाधक बन्न सक्छन् । दुई खेलको म्यान अफ द म्याच भएका गोलरक्षक एञ्जल श्रेष्ठ एपीएफका भरपर्दा खेलाडी हुन् ।
झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले ७ लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने छन् ।
Discussion about this post