काठमाडौं । नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ता गठबन्धनका क्रमश: पहिलो र तेस्रो ठूलो दलहरू हुन् ।
आउँदो वैशाख १५ मा इलाम क्षेत्र नं. २ मा हुने संसदीय उपनिर्वाचनमा यी दुवै दल आक्रामक देखिन्छन्, उनीहरूले तयारीसमेत त्यसैगरी गरिरहेका छन् ।
एमालेले यसअघि सोही क्षेत्रबाट निर्वाचित पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने रास्वपा उपयुक्त उम्मेदवार खोज्दैछ ।
रास्वपा महामन्त्री डा. मुकुल ढकालका अनुसार आगामी चैत १७ गते पार्टी सभापति रवि लामिछानेकै उपस्थितिमा इलाम २ मा उम्मेदवारी घोषणा हुनेछ ।
एउटै गठबन्धन भएपनि एमाले-रास्वपा आ-आफ्नै तवरले तयारीमा जुटेका छन् । यसबारे एमालेले रास्वपालाई सहयोगका लागि आग्रह गर्ने र नमाने प्रतिस्पर्धा उत्रिने उद्घोष गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । “रास्वपालाई सहयोग गर्नुस् भन्ने अपिल रहन्छ । नत्र भने प्रतिस्पर्धा नै हुन्छ,” उनले भने ।
इलाम २ एमालेको गढ नै मानिन्छ । त्यसो त २०४८ यता त्यहाँबाट निरन्तर सुवासचन्द्र नेम्वाङले जित्दै आएका थिए । भर्खरै गठित रास्वपाले भने गत निर्वाचनमा प्रत्यक्षतर्फ १३ सय र समानुपातिकतर्फ ४ हजार मत ल्याएको थियो ।
Discussion about this post