विराटनगर । सांग्रीला मोरङ एफए विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सहिद रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफविरुद्ध कठिन जित निकाल्दै घरेलु मैदानमा सांग्रीलाले फाइनलको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा एपीएफविरुद्ध जित निकाल्न सांग्रीलाले सडन डेथसम्म पर्खनु पर्यो ।
निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै टिमले समान ३–३ गोल गरेका थिए । टाइब्रेकरबाट पनि विजेताको टुंगो नलागेपछि खेलको छिनोफानो सडन डेथबाट भएको हो । सडन डेथमा एपीएफको चुनौती पन्छाउन सफल हुँदा सांग्रीला भाग्यमानी ठहरियो ।
टाइब्रेकरमा सांग्रीलाका आशिष चापागाईं, अभिषेक लिम्बू र उमेश कार्कीले गोल गरे । सांग्रीलाका सागर तिरुवा र विदेशी खेलाडी एनकेटको प्रहारमा एपीएफका गोलरक्षक एन्जल श्रेष्ठ बाधक बने । सडन डेथमा करण राईले गोल गरेर टिमको जित निश्चित गरे ।
टाइब्रेकरमा एपीएफका अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरेका थिए । दिपेश धिमाल र कूलदीप कार्कीको प्रहारलाई सांग्रीलाका गोलरक्षक विशाल सुनारले सानदार तरिकाले बचाए । सडन डेथमा प्रदीप लामाको प्रहार पोलमा लागेर बाहिरिएपछि एपीएफ उपाधिनजिक पुग्नबाट चुक्यो ।
सांग्रीलाले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लब र पाहुना टोली सिक्किम ड्रागन भारतबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । सांग्रीला विदेशी पाहुना टोली भुटानको आरटीसी एफसीलाई ३–२ गोल अन्तरले हराउँदै सेमिफाइनल पुगेको थियो ।
एपीएफ इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाईज युनाइटेडलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
पहिलो सेमिफाइनल खेलमा मैदानमा उत्कृष्ट प्रदर्शन गरेपनि दुवै टिमको फिनिसिङ कमजोर देखियो । सांग्रीला र एपीएफले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेलको छिनोफानो गर्न सडन डेथसम्म पुग्नु परेको हो ।
सांग्रीलाका आशिष चौधरीले १६ औं मिनेटमा गरेको कडा प्रहारलाई एपीएफका गोलरक्षक अन्जन श्रेष्ठले रोकिदिए । त्यसलगतै विदेशी खेलाडी स्याङले गरेको प्रहारमा पनि श्रेष्ठ बाधक बनिदिए ।
एपीएफका अनिष महर्जनले २५ औं मिनेटमा डी–बक्स भित्रबाट गरेको प्रहारले पोस्टको बाटो तय गर्न सकेन । ६४ औं मिनेटमा एपीएफका विदेशी खेलाडी जोनको प्रहार बारमाथिबाट बाहिरियो ।
टिमको जितमा उत्कृष्ट भूमिका निर्वाह गरेका सांग्रीलाका गोलरक्षक विशाल सुनार प्लेयर अफ दी म्याच घोषित भए । एपीएफको आधा दर्जन राम्रा प्रहारलाई निस्तेज पारेर टिमलाई फाइनलमा पुर्याएका उनले नगद ११ हजार रूपैयाँ प्राप्त गरेका छन् ।
सांग्रीलाका प्रशिक्षक रानु रानामगरले विभागीय टोलीमाथि जित निकाल्न सक्नु नै ठूलो कुरा भएको बताए । ‘विभागीय टोली बलियो भएपनि खेललाई पूरै समय नियन्त्रणमा लिन सक्दा जित निस्कियो,’ उनले भने, ‘निर्धारित समयमा गोल गर्न नसक्नु हाम्रो कमजोरी हो ।’ आगामी खेलमा खेलाडीले सुधारिएको प्रदर्शन गर्ने रानामगरले बताए ।
एपीएफका प्रशिक्षक बुद्धिमान राईले निर्धारित समयमा खेलाडीले अवसरको सदुपयोग गर्न नसक्नुले हारको मुख्य कारण बनेको बताए । ‘गोल गर्ने धेरै अवसरमा खेलाडी चुक्नु दुर्भाग्यपूर्ण बन्यो,’ उनले भने, ‘पराजयको मुख्य कारण नै यही हो ।’
Discussion about this post