सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदान नै भएन ।
मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेका हुन् ।
संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भएका हुन् । २७ पुसमा नाउपासमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।विश्वासको मत पाउने निश्चित नहुदा विश्वासको मत लिनबाट रावल पंछिदै आएका थिए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि प्रदेश प्रमुख देवराज जोशी नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा जुटेका छन् ।
उनले मुख्यमन्त्री पदमुक्त भएको पत्र आएपछि नयाँ मुख्यमन्त्री नियुक्ति अघि बढाउने तयारी गरेका छन् ।
धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार प्रदेशसभामा ठूलो रहेको नेपाली कांग्रेसको संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुन सक्ने बताइएको छ ।
Discussion about this post