इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनले छपक्कै छोपिसकेको छ । उमेदवारहरु आफ्नो पक्षमा नतिजा निकाल्न दौडधुप गरिरहेका छन् । यसपटकको निर्वाचनमा युवाहरुको सकृयतापुर्वक सहभागिता देखिएको छ । सिप भएको खण्डमा नेपालमा नै आत्मर्निभर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सफल ध्रुव अधिकारी पनि यस पटकको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा उमेदवारकारुपमा सहभागी हुदैछन् ।
इटहरी उपमहानगरपालिका वडा नं. २ निवासी अधिकारी इटहरीको गोर्खा गल्लीमा लामो समय देखि एक्टिभ मोबाइल पसल सञ्चालन गर्दै आएका छन् । व्यापार व्यवसायलाई नजिकबाट बुझेका ३३ वर्षीय युवा विगतका निर्वाचनमा अग्रजलाई निर्वाचित गराउने मुख्य भुमिकामा रहने गर्थे । तर यो पटक उनी आफैं उम्मेदवार बनेका छन् ।
२०६१ सालमा इटहरी २ मा रहेको महेन्द्र माध्यामिक विध्यालयबाट एसएलसी उत्तिर्ण गरेका अधिकारीले इटहरी २० को तत्कालिन जनसहयोग उच्च मावि बाट २०६३ सालमा प्रमाणपत्र तह उत्तिर्ण गरेका थिए । प्रमाणपत्र तह उत्तिर्ण गरेसँगै उनी व्यवसायमा पनि होमिएका थिए । अधिकारी भन्छन् ‘मैले व्यवसायको सुरुवात गरेपछि धेरै अग्रजहरुलाई निर्वाचनमा सघाएको छु । अग्रजहरुबाट अपेक्षा धेरै गरियो, तर, अपेक्षा गरेअनुरुप काम कहिले पनि भएन । सोही कारण आफैं उम्मेदवार बनेको हुँ ।’
मोवाइल व्यवसायी संघ सुनसरीको महासचिव रहेका अधिकारी जीवन पराजुलीको प्यानलबाट वाणिज्य सदस्य तर्फबाट उम्मेदवार बनेका छन् । आफुँ सहितको नेतृत्वले निर्वाचनमा जित निकालेको अवस्थामा व्यवसायिक स्थायित्व र शुसासन कायम गर्ने, स्थानिय उत्पादनमा जोड दिदै सहज बजारीकरण गर्न सहयोग गर्ने, युवा उद्यमीको तालिमको आयोजना गर्ने, अव्यवस्थित बजारलाई व्यवस्थित गर्न पहल गर्ने अधिकारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
कुनैपनि दलगत नेतृत्व नभएर व्यवसायिक हक हितको पक्षमा काम गर्ने अठोटका साथ निर्वाचनमा होमिएको अधिकारीको भनाइ छ ।
Discussion about this post