सुरेन्द्र भण्डारी,झापा । झापाको भद्रपुरमा फागुन ७ गतेबाट शुरु हुन लागेको भद्रपुर झापा गोल्डकप २०७९ को पहिलो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १६ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी ८० प्रतिशत पूरा भएको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगिताका लागि अहिले रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य सम्पन्न भइसकेको छ ।
त्यस्तै, बाँसको अस्थायी प्यारापिट समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष ढकालले बताउनुभयो । झन्डै २ दशकपछि भद्रपुर झापा गोल्डकप संचालन हुन लागेको हो । प्रतियोगितामा ए डिभिजनका सात टिम सहित भारत, भूटान र बंगलादेशका गरी १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष ढकालले बताए । प्रतियोगिता सम्पन्न गर्न झण्डै दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका बिजेताले नगद १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ पाउनेछन् । प्रतोयोगिताको संरक्षक भद्रपुर नगरपालिकाले खेल संचालनका लागि ३० लाख रुपैयाँ सहयोग गरेको र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न विभिन्न दाताहरुबाट प्रथम, दोस्रो, म्यान अफ द म्याच, विधागत उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडीका लागि पुरस्कार रकम प्रायोजन भइरहेको प्रतियोगिताका सल्लाहकार टिकाराज ढकालले बताए । प्रतियागिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख एक हजार रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ भने उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, फरवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २० हजार रुपैयाँ पाउनेछन ।
१८ वर्षपछि सिँगारिँदै मेची रंगशाला
त्रिभुवन गोल्डकपको अन्तिम संस्करण आयोजना भएयता मेची रंगशाला सुनसान बन्यो । त्यस यता यो रंगशालामा कुनै प्रतियोगिता आयोजना हुन सकेनन् । १८ वर्ष अघि मेची रंगशालामा त्रिभूवन गोल्डकप आयोजना गरिएको थियो । तर, त्यस यता कुनै प्रतियोगिता नहुँदा उजाडिएको रंगशाला अहिले सिँगारिदैछ । फुटवलका लागि आफैंमा गर्बिलो इतिहास बोकेको भद्रपुरमा कुनै पनि प्रतियोगिता आयोजना नहुँदा त्यस यता विर्तामोड, कनकाई, काँकडभिट्टा र दमकमा फुटबलका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता धमाधम हुन थाले । तर, २०६१ सालयता यो रंगशालामा एक पटक पनि प्रतियोगिता हुन सकेनन् ।
गर्बिलो इतिहास बोकेर पनि फुटवलका कुनै प्रतियोगिता आयोजना नगरिँदा ओझेलमा परेको भद्रपुरलाई चलायमान बनाउन यस पटक भद्रपुर झापा गोल्पकप आयोजना गरिदैछ । यो प्रतियोगिता आयोजना गरिएसंगै बिर्तामोडमा बर्सेनि आयोजना गरिँदै आएको झापा गोल्डकपलाई स्थगन गरिएको छ । झापा गोल्डकपलाई स्थगन गर्दै भद्रपुर झापा गोल्डकपलाई सघाउने घोषणा गरेसंगै त्यस क्षेत्रका स्थानीय समेत उत्साहित बनेका छन् ।
फागुन ७ बाट प्रतियोगिता आयोजना हुने भएसंगै उजाडिएको रंगशाला अहिले सिँघारिदैछ । प्रतियोगिता सम्पन्न गर्न भएको स्थायी प्याराफिटलाई रगरोगन गरिँदै छ भने बाँसका अस्थायी प्याराफिट समेत तयार पारिँदैछ । फुटवल हेर्ने दर्शकको सुविधालाई मध्यनजर गर्दै प्यराफिट परिसरमा कार्पेट विच्छ्याइने अध्यक्ष ढकालले बताए ।
जोखिम मोलेर गोल्डकप
गोल्डकप आयोजना गर्न ठूलो धनराशि लाग्ने भएपनि जोखिम मोलेर प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नै झण्डै २ करोड रुपैयाँ लाग्ने भएपनि स्थानीय दाताको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका लागि भद्रपुर नगरपालिकाले ३० लाख रुपैयाँ प्रदान गर्ने र बाँकी रकम जुटाएर गोल्डकप सम्पन्न गर्न लागिएको अध्यक्ष ढकालले बताए ।
गोल्डकपका लागि प्रथम पुरस्कार चण्डीराज , नवराज, टिकाराज र हेमराज ढकालले प्रदान गर्नु भएको छ । त्यस्तै दोस्रो पुरस्कार पूर्व मन्त्री ओम सरावगीले सञ्चालन गरेको सूर्य प्लाई उडले व्यहोर्ने बताइएको छ ।
त्यस्तै शौर्य एयर लाइन्सका सञ्चालक तथा ओम साई पाथीभरा अस्पतालका सञ्चालक दिपक पोखरेलले प्रतियोगिता सञ्चालनका लागि १० लाख रुपैयाँ प्रदान गर्ने बताइएको छ । आदित्य पराजुलीले सञ्चालन गरेको त्रिशक्ति ग्यासले पाँच लाख रुपैयाँ प्रदान गर्ने र व्यवसायी दिनवन्धु गोयलले ५ लाख ३५ हजार रुपैयाँ प्रदान गर्ने अध्यक्ष ढकालले बताए ।
‘अहिले व्यवसायी आफैं व्यवसाय छाडेर सडकमा उत्रने अवस्था छ यस्तो अवस्थामा पनि भद्रपुर झापा गोल्डकपलाई सफल बनाउन सबै जुट्नु भएको छ यो नै हाम्रा लागि खुशीको कुरा हो’अध्यक्ष ढकालले भने – बैंकबाट ६ प्रतिशतमा लिएको ऋणको व्याजदर बढेर १८ प्रतिशत पुग्यो यस्तो अवस्थामा पनि हामीलाई सबैले साथ दिनु भएको छ । यो चानचुने कुरा होइन । अहिले प्रतियोगिता सम्पन्न गर्न सबै स्थानीयवासी, उद्योगी व्यवसायी, देश तथा विदेशमा रहेका नेतालीले साथ र सहयोग गर्नु भएको छ – अध्यक्ष ढकालले भने ।
१० रुपैयाँमै फुटवल हेर्न पाइने
भद्रपुर झापा गोल्डकप हेर्न एक सय ५० रुपैयाँ टिकट दर कायम गरिएको छ । गोल्डकप हेर्न आउने दर्शकलाई एक सय ४० रुपैयाँ सम्मको जुस वा कफी, चिया र पानी समेत सित्तैमा दिने आयोजकले जनाएसंगै रु १० मै भद्रपुर झापा गोल्डकप हेर्न पाइने भएको हो । आउने सबै दर्शकलाई झापा भद्रपुर गोल्डकप लेखिएको कपमा हरेक दिन कफी र चिया समेत सित्तैमा खुवाउने तयारी गरिएको अध्यक्ष ढकालले बताए । फुड जेमले सबै दर्शकका लागि निःशुल्क जुस स्पोन्सर गरेको बताइएको छ ।
विद्यार्थी र ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश
भद्रपुर झापा गोल्डकप हेर्न आउने दर्शकका लागि एक सय ५० रुपैयाँ टिकट दर कायम गरिएपनि विद्यार्थी र ज्येष्ठ नागरिक तथा फरक क्षमता भएकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाईको छ ।
आयोजक समितिका अध्यक्ष ढकालका अनुसार भद्रपुर नगरपालिकामा अध्ययनरत सबै विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको हो । त्यस्तै राज्यले नै सुविधा दिँदै आएका ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई समेत टिकट निःशुल्क प्रदान गरिने बताइएको छ । १८ वर्षपछि हुन लागेको भद्रपुर झापा गोल्डकपले भद्रपुरलाई विश्वमा चिनाउने अपेक्षा गरिएको छ ।
Discussion about this post