झापा — विक्रम संवतको पात्रोमा नयाँ वर्ष फेरिएको छ । २०८० सालको बिदाइ गर्दै २०८१ साल सुरु भइसकेको छ शनिवारबाट ।
आशा र भरोसाका साथ देशको समृद्धिमा २०८१ साल सुखद रहने अपेक्षा आम नागरिकको छ । यस वर्ष आर्थिक हिसाबमा भने देश शिथिल अवस्थामा पुग्यो । बैङ्क तथा वित्तीय क्षेत्रमा तरलता, महँगी जस्ता कारणले जनता मारमा परे ।
यसैका कारण बैङ्किङ क्षेत्र आन्दोलित बन्यो भने मिटर ब्याजको आतङ्कमा पिल्सिएका जनताले सडकदेखि सदनसम्म तताए ।
गठबन्धनको टुट र जुटको शृङ्खला यस वर्ष पनि देखियो । सरकारको नेतृत्वलाई हेर्दा पनि २०८० साल अत्यन्तै अस्थिर वर्ष बन्यो ।
बिर्सन लायक बनेको २०८० साललाई बिदा गरेर नयाँ वर्ष २०८१ लाई स्वागत गर्दै गर्दा २०८१ सालमा यस्ता घटना नदोहोरिने अपेक्षासहित २०८१ सालको सुखद आगमनको कामना आम नागरिकले गरिरहेका छन् ।
झापा दमक ९ कि मिना अधिकारी हिजोका दिनमा जे जस्ता घटनाहरू भए त्यसले अब निरन्तरता नपोओस् भन्ने कामना गर्छिन् । उनकै जस्तो कामना छ दमक ८ कि गङ्गादेवी नेपालको पनि । उनी भन्छिन्, “नेताहरूमा सद्बुद्धि पलाओस्, कसैका छोराछोरी विदेश जान नपरोस्, बुढेसकालको सहारा छोराछोरीलाई सधैँ यही देशमै देख्न पाउँ ।”
दमक ८ की ज्ञानु पौडेल नयाँ वर्षमा आफ्ना लागि भन्दा पनि देशका लागि सोच्ने र नेपाली माटोका लागि सोच्ने राजनेताको उदय होस् भन्ने कामना गर्छिन् ।
नयाँ साल सँगै नयाँ जोस, नयाँ उमङ्ग अनि जीवन सुचारु गर्ने नयाँ तरिका लिएर फेरी अर्को वर्षको यात्रा सुरु हुँदै गर्दा बितेको वर्ष बितिसक्यो अब आउने वर्ष अझै राम्रो गर्ने सङ्कल्प लिएर अघि बढ्नुनै उत्तम हुने उनी बत्ताउँछिन् ।
वर्ष २०८० मा जे जस्तो भयो, जति गल्तीहरू भए ती सब २०८१ मा नदोहोर्याउने र सुधार गर्ने अठोट लिनु जरुरी हुने दमक ९ का उमानाथ न्यौपाने बताउँछन् ।
खागसरि नागरिकमा उत्पन्न निराशा हल गर्न राज्य सञ्चालक र राज्यका नीति निर्माण तहमा पुगेकाहरूको ध्यान पुगोस् भन्ने उनी कामना गर्छन् ।
नयाँ वर्ष २०८१ मा अन्यायका विरुद्ध बुलन्द आवाजहरू चर्किउन, गरिब र अशक्तहरूका आशा फर्किउन,भत्किएका संरचनाहरू बन्न सुरु गरुन्, समान्तबाद र ताना शाही सबै नाश हुन्, सरकार माथि जनताको भरोसा बढोस्, देश द्रोहीको योजना कुहिएर सडोस्, अपहरण र हत्याका शृङ्खला सकिउन, बिछोडमा तड्पिएका मनहरू फर्किउन, शरीर, मन र बिचार स्वास्थ्य रहुन्, सबै नेपाली एक–अर्काका मित्र होउन्, गाउँ, सहर र बस्तीहरूमा शान्ति छाओस्, नेपालीले नेपाल माथि गर्व गर्न पाओस् भन्ने कामना गर्छन् सर्वसाधारण नागरिकहरू ।
Discussion about this post