विराटनगर । मोरङको रंगेलीमा बिहीबार एक जना पुरुष मृत फेला परेका छन् । रंगेली नगरपालिका–२ बिरान टोलस्थित धान खोतमा अन्दाजी ३५/४० वर्षीय पुरुषको शव भेटिएको हो ।
मृतकको पहिचान खुल्न बाँकी छ । प्रहरीले पहिचानको प्रयास भइरहेको जनाएको छ । धान खेलमा पुरुष मृत फेला परेको जानकारी स्थानीयले प्रहरीलाई बिहान ७ बजेतिर दिएका थिए । इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेको छ ।
मृत फेला परेका पुरुषको सनाखत हुन बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । ‘मृतकको नाम, थर र वतन खुलेको छैन । पहिचानको प्रयास भइरहेको छ,’ उनले भने । प्रहरीलाई प्राप्त जानकारी अनुसार मृतक स्थानीय हैनन् । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी बस्नेत बताउँछन् ।
उनका अनुसार घटनास्थलको प्रकृति हेर्दा तत्काललाई घटना शंकास्पद देखिँदैन । मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएको र अनुसन्धानबाट घटनाको वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post